Newslaya Home

​साथीको लहै लहैमा शिकार खेल्न गएका आशिषले ज्याननै गुमाए

(यसरी भएको थियो घटना)
बुधबार १९, मङि्सर २०७५

धरान । ग्रिलको काम गर्ने आशिष ठटाल कहिले काही साथीहरु संग गाउँ नजिकैको चारकोशे जंगलमा शिकार खेल्न जाने गर्दथे । मंसिर ७ गते पनि उनका साथीहरुले शिकार खेल्न जाने आग्रह गर्दा बिसन्चो भएको भन्दै जान मानेका थिएनन् तर साथीहरुले कर गरे पछि उनी शिकारका लागि गएका थिए । 

मन नलाग्दै पनि साथीहरु रिसाउने डरले शिकारका लागि गएको दिननै उनको अन्तिम दिन बन्यो । बँदेल मार्न गएका उनी साथीहरुले आफैलाई बँदेल जस्तो ठानेर गोलि प्रहार गर्दा ज्यान गुमाए । 

धरान १७ स्थित उदय टोलका १७ वर्षिय ठटाल घरका कान्छा छोरा हुन् । दलित समुदायका गरिब परिवारका ठटाल सहित ठुलो दाजु आमोस ठटालको आम्दानीले घर चलेको थियो । साथीको लहै लहैमा लाग्दा घरको चुल्हो बाल्ने एउटा छोरा गुमाएका छन्, बुबा कुमार ठटालले । 

गत मंसिर ७ गते बेलुका ठटाल संगै चारकोशे जंगलमा शिकार खेल्न भरुवा बन्दुक लिएर ६ जना गएका थिए । जंगलमा पर्ने उदय सामुदायिक वनमा शिकार खोज्दै जाँदा ८ गते विहानको ३ बजे तिर रुखको फेदमा थकाई मार्दै बसेका थिए । 

पक्राउ परेका साथीको बयानको आधारमा शिकार छेक्न तिर वटा टोलि बनाएका थिए । २÷२ जनाको टोलिले ३ तिरबाट छेक्न योजना बनाएका थिए । ठटाल टाउको दुख्यो भन्दै त्यही बसे पछि उनका टोलिको साथी एक्लै गए । 

अर्को टोलिबाट आउदै गरेको साथी कमल गुरुङले रुखको फेदमा बसिरहेका ठटाललाई चिन्न नसकेर बँदेल सम्झेर गोलि प्रहार गरे आशिषको छातिमा लाग्यो उनी त्यही ढले । उनी संग गुरुङ सहित हेम राई, आविश्कार लिम्बु, मोहन बराईली र सञ्जेल राई थिए । गुरुङको गोलि प्रहारबाट मृत्यु भएका ठटाललाई सबै साथीहरु मिलि त्यही जंगलमा गाडेर फर्किएका थिए ।
 
७ दिन सम्म भाई घरमा नफर्किए पछि दाजु आमोसले ईलाका प्रहरी कार्यालय धरानमा हुलिया सहित खोजतलासका लागि निवेदन दिएका थिए । खोजतलासका क्रममा शिकार खेल्न साथीहरु संग गएको अनुसन्धानबाट थाहा पाए पछि प्रहरीले मोहन बराईली र कमल गुरुङलाई पक्राउ गरे पछि घटना सार्वजनिक भएको थियो । ११ दिन पछि उनको शव प्रहरीले उत्खनन् गरि निकालेको थियो । 

नजिकैको शिकार खेल्न गएका संगैका साथीलाई गोलि हानी हत्या गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक सहित प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार एक थान पडकेको र अर्को थान नपडकेको भरुवा बन्दुक बरामद भएको हो ।  

घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी ज्यान सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमती लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा भरुवा बन्दुक राखेको पाईएकोले हातहतियार तथा खरखजाना मुद्धा पनि चलाईने ईलाका प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सीनाले बताए ।