Newslaya Home

​सीपविकास तालिम केन्द्रमा तालिम ठप्प, पुराना अस्थायी कर्मचारीको पनि बिजोग

- बाबुराम कार्की
मङ्गलबार १८, मङि्सर २०७५

इटहरी । व्यवसायिक तथा सीपविकास तालिम केन्द्र इटहरीमा प्रत्येक आर्थिक वर्षको सुरुमै तालिमहरु सञ्चालन हुन्थे, तर यो वर्षको मंसिर बित्न लाग्दासमेत तालिमहरु सञ्चालन हुन सकेनन् । 

नयाँ संरचना अनुसार यस केन्द्र अब व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भएको छ । तर कार्यालयमा पुराना अस्थायी र करारहरुका कर्मचारीहरुलाई जिम्मेवारी नदिँदा र नयाँ कर्मचारीहरु पनि नपठाउँदा तालिमहरु सञ्चालन हुन सकेको छैन । 

पुरानो संरचनामा अस्थायी तथा करार गरी ३५ कर्मचारीहरु थिए । स्थाई संरचनामा कार्यालय प्रमुखमा उपसचिव पदको दरबन्दिसहित १३ जना कर्मचारीहरु रहने व्यवस्था छ । 

यसो गर्दा पुराना धेरै कर्मचारीहरु सेवाबाट हटाइनेछन् । ‘पुराना कर्मचारीहरुलाई कुनै विकल्प नै नराखी नयाँ संरचनामा लगियो,’ इटहरीस्थित सीप विकास कार्यालयका प्रमूख जेटबहादुर राईले भने, ‘कार्तिक यता तलब पनि हालेको छैन भने नयाँ कर्मचारीहरु पनि कार्यालयमा आएका छैनन् ।’

सीपविकास तालिम केन्द्र इटहरीबाट विद्युत जडान, अपग्रेड विद्युत् जडान, प्लम्बिङ, अटोमेकानिक (गाडिको इन्जन बनाउने), जनरल मेकानिक, कटाई, सिलाई, अपग्रेड, कटाई सिलाइ, केश श्रृंगार, अपग्रेड केश श्रृंगार(ब्युटिसियन), कम्प्युटर अपरेटर, इलेक्ट्रोनिक्स मर्मत(टिभि, रेडियो, मोबाईल), मोटरसाईकल मेकानिक तालिम सञ्चालन हुँदै आएका थिए । 

वैदेशिक रोजगारका छोटा र अल्पकालिन तालिमहरु सुरक्षागार्ड, कुक, स्टील फिक्सीङ्ग(छट बाँध्ने), स्का फोल्डीङ्ग(खट बाँध्ने)लगायतका तालिमहरु सञ्चालन हुँदै आएका थिए ।

अन्तवार्ताको माध्यमबाट प्रशिक्षार्थीहरुको छनोट गरेर सहभागी गराउने गरिएको थियो । विद्युत जडानका प्रशिक्षक रामकृष्ण अधिकारीकाअनुसार यस वर्ष तालिम सञ्चालन गर्नु भनेर परिपत्र नआउँदा कुनै पनि तालिम सञ्चालन भएका छैनन् । भन्छन्, ‘तालिम कहिलेदेखि सञ्चालन हुन्छ भन्दै कार्यालयमा दैनिक युवाहरु सोध्न आउने गर्छन् ।’ 

कार्यालयको कार्यप्रभावकारीता राम्रो छ । तालिम सिकेकाहरु ६० प्रतिशत रोजगारीमा संलग्न रहेको कार्यालयको सर्वेक्षणले देखाएको कार्यालय प्रमूख राईले बताए । यो कार्यालयले कोशी अञ्चलको छ जिल्ला र सगरमाथाको तीन जिल्ला सप्तरी, उदयपुर, सिरहा हेर्ने गर्छ ।

कतिले तालिम सिके ?

२०३९ सालमा स्थापना भएको इटहरीको व्यवसायिक तथा सीपविकास तालिम केन्द्रबाट अहिलेसम्म २० हजार बढीले तालिम लिएका छन् । वार्षिक १७ सय ५० जना युवा युवतीहरुले पछिल्लो वर्षसम्म तालिम लिँदै आएका थिए । तालिमपछि रोजगारी पनि छिटो पाउने भएकाले युवाहरु यस केन्द्रले दिने प्राविधिक शिक्षाप्रति अझै आकर्षित छन् । तर अब युवाहरुले पहिलेको जस्तो सुविधा पाउने वा नपाउने निश्चित छैन ।