Newslaya Home

​महेन्द्र क्याम्पसको जग्गा हडप्न भुमाफियाहरुलाई जनप्रतिनिधीको सहयोग

सोमबार १७, मङि्सर २०७५

धरान । शैक्षिक संस्थाको जग्गा हडप्नका लागि स्थानीय जनप्रतिनिधीहरुले नै सहयोग गरेको महेन्द्र बहुमुखि क्याम्पसका विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । मोहिको नाममा भुमाफियाहरुले जग्गा खान खोजेको भन्दै विरोध जनाएका हुन् ।

४१ वर्ष पछि मोहीयानी हक खोज्दै भुमिसुधार कार्यालय सुनसरीमा निवेदन दिनका लागि मोही नामसारीको सिफारिस गर्दा क्याम्पसलाई कुनै जानकारी नै नदिई जनप्रतिनिधीले आफु खुशी सिफारिस गरिदिएको उनीहरुको आरोप छ । 

सार्वजनिक महत्वका जग्गाहरु जनप्रतिनिधीले नै संरक्षण गर्नुपर्नेमा कार्यवाहक प्रमुखको ठाडो निर्देशनमा वडाअध्यक्षले सिफारिस गरिदिएको सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले बताए । 

जनप्रतिनिधिमाथि यसरी आरोप लगाउनुका केही मुख्य कारणहरु विद्यार्थीहरुले बताएका छन् । 

मोहीको नामसारी गर्न दिएको निवेदनमा वडा नं ११ ले सर्जमिन मुचुल्का गर्दा र नामसारीको सिफारिस गर्दा क्याम्पस प्रशासनलाई जनप्रतिनिधिले जानकारी दिएनन् । जसको कारण जनप्रतिनिधि यो प्रक्रियामा सहभागि रहेको पुष्टि हुन्छ । 

जनप्रतिनिधिले जनताले दिएको मतको विश्वासघात गरेको नेविसंघका कुन्दन अधिकारीले बताए । उनले भने, ‘सार्वजनिक महत्वसँग जोडिएको बिषयमा सुटुक्क सिफरिश गर्नुमा ठुलो खेल भएको छ, यस प्रति घोर आपत्ति जनाउँछौं ।’

सम्मेलनमा अनेरास्ववियु इकाई अध्यक्ष सुजन खत्रीले पनि क्याम्पसले जग्गा खरीद गर्दा लगतकट्टा नगर्दा अहिले शैक्षिक क्षेत्रको जग्गामाथि भुमाफियाको चलखेल बढेको बताए । 

उनले मोहीको सम्बन्धित परिवारले भन्दा पनि अन्य व्यक्तिहरुले चलखेल गरेको प्रष्ट देखिएको बताए । उनले भने, ‘क्याम्पस प्रशासनले मोही नामसारीको निवेदन रोक्न भन्दाभन्दै कार्यवाहक प्रमुखबाट निर्देशन गएको पायौं, त्यो जग्गा व्यक्तिको होइन । धराने जनताको हो, जोगाउनुपर्छ ।’ 

क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियनको पहलमा आइतबार सबै विद्यार्थी संगठनहरुको भेलाले १३ सदस्यीय क्याम्पस जग्गा बचाउ संघर्ष समिति गठन भएको छन् । भेलाले स्ववियु सभापति सागर सरगम चेम्जोङ संयोजक रहने गरी क्याम्पसका विद्यार्थीहरु संगठनहरुको प्रतिनिधि छन् ।

जग्गामा मोहीयानी हक खोज्दै भुमाफियाहरुको चलखेल बढेकाले पछि क्याम्पसको जग्गा संरक्षण गर्न आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पस जग्गा बचाउ संघर्ष समिति गठन गरेर भुमाफियाहरु विरुद्ध संघर्षमा उत्रने घोषणा गरेका हुन् ।

शैक्षिक, सार्वजनिक महत्वको जग्गा भएको कारण सबै विद्यार्थी संगठनहरु एकजुट भएर संघर्ष समिति गठन गरेको सभापति चेम्जोङले बताए । उनले तत्काल सांकेतिक विरोध गरिएको र केही समयमा कडा संघर्षको कार्यक्रमहरु पनि तय गर्ने उनले बताए । 

क्याम्पसले २०३४ साल असारमा श्यामगोविन्द श्रेष्ठको नाममा भएको धरान ११, पानीटंकी (स्वास्तिका चोक) मा १७ कट्ठा १८ धुर जमिन किनेको थियो ।

साविक धरान ९(क) को कित्ता नं २६६ को उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख थियो । मोही उल्लेख भएका व्यक्ति र उनको श्रीमतीको मृत्यु भईसकेको छ भने माईला छोराले मोही नामसारीका लागि सिफारिस मागेका थिए ।