Newslaya Home

श्रीमतीबाट पीडित भएको प्रधानाध्यापकको गुनासो

आइतबार १६, मङि्सर २०७५

विराटनगर । विभिन्न समयमा महिलामाथि हिंसा भएका समाचारहरू आउने गरेका छन् । तर, अहिले भने पुरुष हिंसाको समाचारहरु पनि आउन थालेका छन् । पुरुषहरु पनि महिलाबाट पिडित हुन थालेका छन् । 

यस्तै प्रधानाध्यापकसमेत रहेका विराटनगरका खेम लोहनीले आफु श्रीमतीबाट घरेलु हिंसामा परेको आरोप लगाएका छन् । उनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेको बताएका छन् ।

श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले लोहनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन् । विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै आएको बताए । 

विराटनगर महानगरपालिकाको न्यायिक समितिका संयोजक तथा उपमेयर इन्दिरा कार्कीले खान, लाउन र बस्न दिने निर्णय गरे पनि श्रीमती सुधा लोहनीले आए झुण्डिएर मर्छु भन्दै धम्क्याएको लोहनीले बताए ।

उनले मोरङ जिल्ला अदालतमा पुरुष हिंसाविरुद्धको मुद्दा हालेको दाबी गरेका छन् । । हाल उक्त मुद्दा विचाराधीन छ । लोहनीले पत्नी सुधा लोहनी, छोराहरू रविराज, बिप्रव र छोरी अदैताले आफूमाथि हिंसा गरेको भन्दै मुद्दा दायर गरेको बताएका छन् । 

लोहनीले श्रीमती सुधा र छोराछोरीले मानसिक यातना दिई खान–लाउनसमेत नदिएको आरोप लगाउँदै आएका छन् ।