Newslaya Home

१६ दिने महिला हिंसाविरुद्धको अभियानका नाममा

हिमाल दाहाल
शुक्रबार १४, मङि्सर २०७५

१६ दिने महिला हिंसा विरुद्धको अभियानका अभियानकर्मीज्यूहरु,

केही दिनदेखि यहाँहरु अभियानमा हुनुहुन्छ । यस्तो अभियान अघिल्लो अनि अघिल्लो वर्ष पनि भयो । अर्को अनि त्यसपछिको वर्षमा पनि हुनेछ ।

महिला हिंसा विरुद्धको यो अभियानलाई यहाँहरुले लामो समयदेखि निरन्तरता दिइरहनुभएकोछ । महिला हिंसाविरुद्धको अभियानमा सबैको ऐक्यबद्धता छ । अभियानले महिलाहिंसा विरुद्ध खबरदारी गर्छ । महिला दुःखी हुनु भनेको समाजको आधा हिस्सा, आधा आकाशमा ग्रहण लाग्नु हो । सृष्टिको बोटमा धमिरा लाग्नु हो । महिला हिंसाले त्यही समाजलाई कलंकित बनाउँछ । त्यसैले महिला हिंसा विरोधी भावना जो कोहीको होस्, सम्मानयोग्य छ ।

तर अभियानको दौरान जे जे कार्यक्रमहरु गर्दैहुनुहुन्छ, पुरापुर बेकार छ । यो परम्पराको निरन्तरता मात्र हो, परिवर्तनको सुत्रधार वा सहयोगी होइन । यसले तपाईको समय, कार्यक्रमका सहभागिहरुको समय र पैसा सकिरहेको छ ।

अधिकारमुखी र हिंसाविरोधी कार्यक्रम आजको समयमा पुरानै शैलीमा अघि बढाउनु कसैको लागि पनि फलदायी हुन्न ।

बरु यो कार्यक्रमलाई शिक्षा अनि अर्थसँग जोडेर अघि बढाउनुपर्छ । महिला हिंसा हुनु वा हेपिनु, पीडामा पर्नुको पछि दुई वटा कारकको हात हुन्छ, पहिलो शिक्षा अनि दोस्रो अर्थ अर्थात् आय ।

त्यसैले महिलालाई शिक्षित बनाउने र शिक्षा स्तरबाटै हिंसाको विषयमा जानकारी दिने प्रणाली बनाउनुपर्छ । शिक्षाको सही मर्म पनि यो हो कि शिक्षा व्यवहारमा लागु हुने हुनुपर्छ र शिक्षाले मानिसको जीवनलाई उत्कृष्ठ बनाउन सहयोग गर्नुपर्छ ।

महिला हिंसालाई स्कुल र क्याम्पसको शिक्षासँग जोडेर लानुहोस् । स्कुलदेखि नै बुझाउनुहोस् । सम्भावित जोखिमका क्षेत्र, समय र अवस्थाका बारेमा बताइदिनुहोस् । सुरक्षाका उपायबारे जानकारी गराउनुहोस् ।

महिलालाई सकेसम्म आयस्तर बढाउने गरी काममा संलग्न गराइदिनुहोस् । व्यवशायिक अवसर जुटाइदिनुहोस् ।

कोठामा बुज्रुकहरु बोलाएर महिला हिंसाबारे ब्याख्या गरेर काम छैन । पम्पलेट बोकेर सय मिटर हिडेर नि काम छैन । ठूला ठूला सम्मेलनहरुमा चिच्याएर केही फाइदा छैन । त्यो त राजनीति गर्ने मेलो मात्र हो ।

वास्तवमै काम गर्न चाहनुहुन्छ भने महिला दिदी बहिनी छोरी चेलीको मनोबल बढाउने गरी काम गर्नुहोस् । महिला तथा किशोरीहरुसँग सवाल जवाफ गर्नुहोस् । कानुनी, सामाजिक र व्यवहारिक ज्ञान दिनुहोस् । 

१६ दिन पर्दैन । १ दिन, मात्र १ दिन आम महिला दिदीबहिनीहरुलाई उनीहरुजस्तै संघर्ष गरिरहेका महिला दिदीबहिनीहरुको कथा सुनाइदिनुहोस् ।

हिंसामा पारिएकी महिला कसरी बाँच्दैछिन्, बरु खोजी गर्नुहोस् । सहयोग गर्नुहोस् । सहयोग जुटाउनुहोस् ।

यस्तो महिलाको खोजी गर्नुहोस्, जसले हिंसाले दिएको चोटलाई जितेर जीन्दगीका रंगहरुलाई आफूभित्र समाहित गर्न सकिन् । अनि उनको त्यो अनुभव ठूला ठूला अक्षरमा लेखिदिनुस् । चर्का आवाज आउने माइक र साउण्ड बक्सबाट घन्काइदिनुस् । तपाइले त्यती गर्नैपर्छ र त्यो गर्ने काम तपाइकै हो ।

अझ यस्तो पात्र खोज्नुहोस्, जसले हिंसामा पर्दा पर्दै पनि आफूलाई बचाउन सकिन् । उनको बहादुरीको कथा उनीजस्तै अरुलाई सुनाइदिनुस् । ता कि अरुलाई हौसला होस् ।

त्यसो गर्न सके तपाइ महिलाहरुमाझ आदर्श बन्न सक्नुहुन्छ । नभुल्नुस्, महिला आधा आकाश हुन्, आधा धर्ती हुन् ।

छोरीचेली दिदीबहिनीहरुको मनमा तपाइप्रति सम्मान भरियोस् । जब जब दुःख अनि पीडा पर्छ, तब तब तपाईको नाम, अनुहार र व्यक्तित्वको असल र आँटिलो छवि उनीहरुको अनुहार र मस्तिष्कमा आओस् । उनीहरु पीडामा हुँदा तपाईलाई सम्झेर दह्रो बनुन् । उनीहरु संकटमा हुँदा तपाइकै नाम जपेर जोसिला होउन् ।

त्यसैले तरिका बदल्नुहोस् अनि हेर्नुहोस्, त्यो एक दिनले कति परिवर्तन ल्याउँछ । १६ दिन पर्दैन, १ दिन । मात्र १ दिन ।