Newslaya Home

‘कविता सम्झौताको उपज होईनन्, पखेटाहरु हुन्’

दिनेश अधिकारी
मङ्गलबार ११, मङि्सर २०७५

कविता, मेरो लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम विन्दु हो । म यसलाई कुनै पनि ‘बाद’ को झ्यालखाना भित्र थुनिएको देख्न रुचाउन्न । स्वतन्त्रता, यसको सौन्दर्य हो र विविधता यसैमा अन्तरनिहित छ भन्ने मान्यता राख्छु । आफूलाई अभिव्यक्त गर्न नपाउँदा मान्छे अकल्पनीय ढंगमा बिरामी पर्छ । कविता यो बिरामीबाट बचाउने अचुक उपचार हो । 

कविता लेख्नु व्यक्तिगत कर्म भएपनि सार्वजानिकता यसको गुण भएकोले कवितामा म भाषागत सरलता नै रुचाउँछु । कलात्मकता, यसको प्राण हो भन्नेमा विश्वास गर्छु । कविता मेरो एकहोरो प्रेम पनि हो । पेशामा सम्झौता हुन सक्छ । मेरा कुनै पनि कविता सम्झौता उपज होइनन् । यी मेरा पखेटाहरु हुन् । 

मेरो लेखनको आग्रह, उद्देश्य र विषय पनि मान्छे हो । कवितामा नयाँ कुरा लेखेको दाबी गर्ने हैसियत राख्दिनँ । यति हो, प्रस्तुतीको ढंगमा भने अरु भन्दा फरक हुने प्रयत्न गर्दै आइरहेको छु । प्रस्तुतीको यही फरक ढंगलाई मैले मौलिकता भन्ने गरेको छु । 

गीत पनि मेरो लागि कविता नै हो । गाइए गीत हो । नगाइए पनि यो आफैमा पूर्ण हुन्छ । यो कविता हो । यी त भए मेरा मान्यताहरु । म यिनै मान्यताहरुलाई टेकेर यसभन्दा अगाडी आफ्ना कुरा राख्छु । 

वेदका ऋचाहरुदेखि नै सुरु भएको छ कवितामा इतिहास । कविता, त्यसैले साहित्यको सबैभन्दा पुरानो विधा हो । समय–क्रममा स्वरुप र संरचनामा आएको परिवर्तनसँगै परिमार्जित हुँदै आएको समकालीन नेपाली कविता नदीको त्यहि प्रवाहको एउटा घुम्ती हो । समाकालिनताका बारेमा विद्वानहरु बीच मतैक्यता छैन । म त्यतापट्टी लाग्दिन । समकालिनता उमेर होइन–मेरो विचारमा यो अनुभूति र अभिव्यक्तिको विषय हो । 

समयको क्रममा जनजीवनसँग टाढिदै गएको कवितालाई मान्छेहरुका मनमा फेरी एकपटक ठाउँ बनाउन २०३६ सालमा छेडिएको सडक कविता क्रान्तिको ठूलो योगदान रह्यो । म त्यसैको अभियन्ता मध्ये एक हुँ । अहिले हामी गणतन्त्र भोगिरहेका छौँ र यसको पक्ष÷विपक्षमा कविताहरु लेखिन थालिसकेका छन् । 

२०६२/६३ को आन्दोलनपछिको कविताले फेरी एउटा मोड बनाएको छ । कवितामा सीमान्तकृत मान्छेका आवाज सशक्त रुपमा मुखरित भएर आएका छन् मात्र होइन परिचयको खोजि र आ–आफ्ना संस्कृति, धर्म र संस्कारसँग जोडिएका मिथक वा विम्बले कवितामा फराकिलो ठाउँ बनाउँदै आएका छन् । जातीय गौरवसँगै यसले कविताको सौन्दर्य बढाएको छ । 

डायस्पोरा साहित्य, कविता कन्सर्ट वा स्ल्याङ पोयट्री अहिलेको नेपाली कविताको महत्वपूर्ण पाटा हुन् । यसको पूर्णरुपमा प्रभाव मूल्याङ्कन गर्ने बेला भइसकेको छैन तथापि अब यसलाई पन्छाएर नेपाली कविताको इतिहास लेखिने अवस्था छैन । 

इतिहास जहिले पनि केही विशिष्ठ प्रतिभाहरुको योगदानको आधारमा निर्माण हुने हो । कविता लेख्ने पछिल्लो पुस्तको ठूलो जमातको बीचमा केही कवि भाई–बहिनीहरु अत्यन्तै राम्रो शिल्पका साथ प्रभावकारी ढंगबाट कविता लेखिरहनु भएको छ । म, आफूभन्दा पछिको यो कवि पुस्तकप्रति जति गौरव गर्छु, उत्तिकै आशावादी पनि छु । यसको अर्थ, अग्रज कविहरुको योगदानलाई बिर्सिएको छु भन्ने चाहि कदापी होइन । 

नेपाली कवि र कविता माथि एउटा ठूलो आरोप लाग्ने गरको छ, कविता आम पाठकले रुचाउँदैनन् । कविताका किताबहरु बिक्दैनन् । सुन्दा यस्तो लाग्छ, मानौँ कविता भनेको केही हुँदै होइन । वास्तविकता के यहि हो त ? चार दशकभन्दा लामो समयदेखि एकहोरो कविता–कर्म गरिरहेको व्यक्तिका हैसियतले आज मलाई यस विषयमा केही कुरा भन्न मन लागेको छ । 

पुस्तक बिक्रि एउटा कुरा हो । विनिमय, त्यो भन्दा बृहत्तर कुरा हो । यस अर्थमा, बिक्रि–विनिमयको एउटा रुप मात्रै हो । बीच–बीचमा आउने समाचारलाई आधार मान्दा सर्वाधिक रुपमा बिक्रि हुने पुस्तकमा कविता विधाकै बहुल्यता छ भन्ने कुरालाई बिर्सेरै कुरा गर्दा पनि विनिमयको अर्थमा अहिले पनि कविता विधा नै सबैभन्दा अगाडी छ । 

पहुँचको सहजता यसको प्रमुख कारण हो । कविताको किताब किन्दा नकिन्दै पनि अमुक कविको कविताको रसास्वादन गर्ने अवसर पाठक वा स्रोतालाई उपलब्ध छ । गोष्ठी, कविताकै सबैभन्दा बढी हुन्छ । पत्रपत्रिकामा तुलनात्क रुपमा कविता नै बढी छापिन्छन् । 

रेडियो टेलिभिजनले कवितासम्बन्धि प्रशस्त कार्यक्रमहरु प्रशारण गर्छन् । अब त सामाजिक सञ्जाल पनि यसमा थपिएको छ । यो परिप्रेक्षमा विचार गरौँ–पहूँचको यो सहजता साहित्यका अरु विधामा कविताकै हारहारीमा छ त ? छैन भने कविता बिक्दैन वा कविताका पाठकहरु छैनन् भनेर आरोप लगाउनु अगाडी हामिले स्विकार गर्नु–किनेरै पढ्नुपर्ने बाध्यता भएका पुस्तकहरु केही बढी प्रति बिकेको अवस्थालाई आधार मानेर कविताको अवमूल्यन हुने गरि आधारहीन निष्कर्षमा पुग्नु उपयुक्त होइन । गोष्ठी, पत्रपत्रिका वा रेडियो–टेलिभिजनका यावत कार्यक्रमहरु अरुचीका उपज होइनन् । 

अबको हाम्रो आवश्यकता हो–नेपाली कवितालाई अनुवादका माध्यमबाट विश्वका प्रमुख भाषाहरुमा रुपान्तरण गर्नु । अनुवाद नभएका पनि होइनन् । तर दुर्भाग्य ! अधिकांश त ती नेपालमै छापिएका छन् र नेपालभित्रै सीमित छन् । हामीलाई खाँचो छ, नेपाली कविताको अनुवाद राम्रो वितरण व्यवस्था भएका विदेशी प्रकाशन संस्थाद्वारा छापिउन र विदेशी पाठकका लागि उपलब्ध होउन् ।

अपवादलाई छोडेर कुरा गर्ने हो भने हाम्रा अनुवादहरुको ध्यान या त त्यतातिर पुग्न सकेको छैन या त त्यहाँसम्म तिनको पहुँच छैन । प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाले यतातिर पहलकदमी गर्नु पर्ने हो । अहिलेसम्मको गतिविधिलाई हेर्दा यी र यस्तै संस्थाहरु – थाहा छैन खै ! कस्तो आत्मरतीमा रमाइरहेका छन् । 

सिर्जनको कोखबाट जन्मिने हो समालोचना । नेपाली समालोचना यता केहि वर्षदेखि कविको सिर्जना भन्दा पनि उसको वैचारिक धरातललाई हेरेर अति प्रशंशा वा अति निन्दाको रोगबाट ग्रसित छ । पारिश्रमिकलाई सिरानी हालेर लेखिएका भूमिकारुपी समालोचनाले त झनै विकृति थपेको छ र पृष्ठपोषणको टड्कारो अभाव नेपाली कविहरुलाई छ । 

जातीय गौरव सबैले गर्न पाउनु पर्छ । शर्त यति मात्रै हो की हामीले परस्पर सद्भाव र सम्मानको हाम्रो सुकिलो परिचयलाई कसै गरे पनि धमिलिन दिनु हुँदैन । यो कवि धर्म पनि हो । 

(धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेलफेयर सोसाईटीको आयोजनामा भएको सिम्पोजियम फर टक शोमा गीतकार दिनेश अधिकारीको कविता माथिको धारणा)