Newslaya Home

​अपांगता भएकी बालिकालाई बलात्कार गर्ने झापाका बाबुछोरासहित चार जना पक्राउ

बिहीबार ०६, मङि्सर २०७५

दमक ।  झापामा अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गौरादह नगरपालिकाका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली रहेका छन् ।

बालिकालाई पुरुषोत्तमले गत कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए भने प्रवीन बराइलीले कात्तिक २३, उनका भाइ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए । प्रहरी निरीक्षक थापाका अनुसार राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेका थिए ।

घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।

उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।