Newslaya Home

इटहरीको आगलागी निभाउने सेन्ट्रल प्लाजाको बोरिङ पम्पसहितको टंकी, दमकलभन्दा प्रभावकारी

शुक्रबार २३, कार्तिक २०७५

इटहरी । इटहरीको सेन्ट्रल प्लाजा (मल) बुधबार इटहरीमा भएको आगलागी नियन्त्रणको लागि मुख्य सहयोगि बनेको छ । मलमा पानी आपूर्तीको लागि बनाइएको पानी टंकी आगो निभाउन सबैभन्दा प्रभावकारी माध्यम बनेको छ ।

मलले ३० लाख रुपैया खर्च गरेर गाडेको बोरिङ पम्प र रिजर्भ टेंकीको कारण इटहरीको आगलागी चाडै नियन्त्रणमा आएको हो । ‘आगो निभाउन मुख्य सहयोगि बन्न पाएकोमा खुसी लागेको छ,’ मलका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले भने, ‘हामीले आफ्नो लागि बनाएको अग्नी नियन्त्रक प्रविधि अरुको लागिसमेत यति उपयोगि होला भन्ने लागेको थिएन ।’ 

आगो निभाउन मल सहयोगि बनेपछि चौतर्फी धन्यवाद पाएको श्रेष्ठले बताए ।

बुधबार इटहरीको सेन्ट्रल मलबाट २० मिटरको दुरीमा रहेको धरान लाइनको दुई वटा घर जल्यो । लक्ष्मी पुजाको खुसीयालीमा सारा नेपाल रमाइरहँदा ती पक्की घरमा दनदनी आगो बल्यो ।

डेढ बजे लागेको आगोले इलेक्ट्रोनिक, कपडा पसल, एजुकेशन कन्सल्टेन्सी लगायत ती भवनमा भएका व्यापारीक पसलमा क्षति गर्यो । इटहरी, धरान, विराटनगर, दुहबी, इनरुवालगायत ठाउँबाट दमकल आएपनि आगो निभाउन निकै गाह्रो परेको थियो ।

‘सुरुको आधा घण्टा त हामी पनि के गर्ने कसो गर्ने अन्योलमा थियौं, दमकललाई पानी लिएर आउँदै, निभाउँदै गर्न गाह्रो भइरहेको थियो,’ दमकलको अनियमित पानीले आगो निभाउन नसकेको बताउँदै श्रेष्ठले भने, ‘लगत्तै हाम्रो मलमा पानी आपूर्तीका लागि बनाइएको फायर फाइटिङ रिजर्भ टेंक उपयोगि बन्यो ।’

मलको दुई लाख लिटर क्षमताको टंकीमा दमकलको पाइप जोडियो र आगो लागेको घरसम्म पुर्याइयो । ‘तीन घण्टा नन स्टप पानी प्रयोग भयो,’ उनले भने, ‘निरन्तर पानी भएपछि आगो चाँडो निभ्यो, थप क्षती हुनबाट जोगियो ।’

आगलागी निरन्तर भएको भए वरपरका घरमा पनि क्षती पुर्याउन सक्ने सम्भावना थियो ।

मलले गाडेको बोरिङ पम्पबाट मलको अण्डरग्राउण्ड टेंकीमा पानी जम्मा हुन्छ । जसबाट केही पानी फिल्टर भएर मलको आवश्यकताको लागि प्रयोग हुन्छ भने केही पानी अग्नी नियन्त्रणको लागि रहीरहन्छ । पानी पुर्याउनको लागि छुट्टा छुट्टै भल्व प्रत्येक तलामा छ । जहाँबाट आवश्यकता परेको बेलामा सिधै पानी प्रयोग गर्न सकिन्छ । पम्प भएर आउने पानी टंकी भरिएपछि बन्द हुने स्वचालित बोरिङ पम्प र पानी टंकीको कारण आगो निभाउन प्रशस्तै पानी प्रवाह भएको थियो ।

नेपालका केही र विदेशका प्रायः अत्याधुनिक भवनमा यसरी नै पानीको आपूर्ती गरिएको हुन्छ । इटहरीमा भने यो पहिलो भवन हो । यो भवन पूर्वकै अत्याधुनिक भवनसमेत हो ।