Newslaya Home

देउसी भैलोको नाममा डेटिङ, कण्डोमको कारोबारसमेत बढ्यो

शुक्रबार २३, कार्तिक २०७५

इटहरी । चाडपर्वलाई युवायुवतीहरुले स्वतन्त्रताको उपयोग गर्ने दिनका रुपमा प्रयोग गर्ने गरेका छन् । फागु पूर्णिमा होस् या बोलबम । मेला होस् या तिहारको देउसीभैलो, यो समयलाई युवायुवतीहरुले माया साटासाट गर्ने अवसरका रुपमा प्रयोग गर्ने गरेका छन् । 

जसको पछिल्लो उदाहरण देउसी भैलोको समयमा हुने युवायुवतीको गतिविधि र औषधी पसलमा बढेको कण्डोमको कारोबारले पुष्टि गर्छ । 

युवयुवतीहरुले तिहारलाई देउसी भैलो खेलेर रमाइलो गर्ने र पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्छन् । कमाएको पैसा पिकनिक जाने र अरु फेसनेबल सामान खरीदका लागि प्रयोग गर्ने गरेका छन् । 

तर यसरी रमाइलो गरिरहँदा युवायुवतीहरु प्रेमी प्रेमिका बनाउने र प्रेम तथा यौन आनन्दमा लिप्त रहने गरेको पाइएको छ । देउसी, भैलो खेल्ने बहानामा विभिन्न ठाउँ पुगेका युवा युवतीहरु त्यतै नजिकैको अध्यारोमा जोडी बनाएर बस्ने गरेको पाइएको छ । 

पूर्वका सबै जसो गाउँ र शहरमा देउसी भैलोमा प्रेम र यौन विकृती देखा परेको छ । ‘देउसी खेल्न आएका रे, पछि त जोडी जोडी अंगालो मारेर म्वाइ खाएर पो बस्न थाले,’ आफ्नो टोलमा आएको एउटा देउसे टोलीको गतिविधिबारे त्यहीँका एक व्यक्तिले भने, ‘गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भयो ।’ युवायुवतीमा संस्कृतिका नाममा विकृती संस्थागत गर्ने प्रवृत्ती बढेको भन्दै उनले चिन्ता व्यक्त गरे, ‘भनौं, के भनौं, नभनौं आफ्ना छोराछोरीले पनि सिक्लान् भन्ने पीर ।’ 

उनकाअनुसार अनुशासित र सभ्य देउसी टोलीहरु पनि आउँछन् । तर यो तिहारमा पछिल्ला केही वर्षमा देउसीमा आर्थिक र यौन विकृती बढ्दै गएको छ । ‘कसैले गाली नगरिदिँदा पनि उनीहरुमा आत्मविश्वास बढेको हुनुपर्छ,’ उनी भन्छन् ।

खासगरी अविभावक नहुने र उस्तै उमेर समुहका युवा युवतीहरुको केही देउसे टोलीमा यस्तो विकृती देखिने गरेको छ । राती अबेरसम्म देउसी भैलो खेल्ने बहानामा जोडी बनाएका युवायुवतीहरुले शारीरिक सम्पर्कको मौकामा खोज्ने गरेको पाइन्छ । यस्तोमा राती साथीकोमा बस्यौं भनेर समुह नै यौन गतिविधिमा संलग्न हुने क्रमसमेत बढेको बताइन्छ ।

यस्तै तिहारको समयमा कण्डोमको कारोबार बढेको औषधी पसल सञ्चालकहरु बताउँछन् । 

‘तिहार लागेपछि तीन, चार गुणा बढी कारोबार भएको छ,’ इटहरी चोकका एक औषधी पसल बताउँछन्, ‘मुन्द्रा लगाएका र भर्खर युवाअवस्था प्रवेश गरेका केटाहरु किन्न आउँछन् ।’