Newslaya Home

माछापोखरीमा अज्ञात समूहले विष हालिदिँदा १० लाखको क्षति

शुक्रबार २३, कार्तिक २०७५

चितवन । चितवनमा एक किसानको माछा पोखरीमा अज्ञात समुहले विष लगाइदिएका छन् । राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका रत्नबहादुर बर्तौलाको माछापोखरीमा अज्ञात समूहले विष लगाइदिँदा करीब रु १० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

बर्तौलाको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी रहेको छ। पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो। 

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रु नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताए। इलाका प्रहरी कार्यालय खैरहनीले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।