Newslaya Home

आज भाइटीका, मुख्य साइत ११ः५५ बजे

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज (शुक्रबार) भाइटीका मनाइँदैछ । 

दाजु भाईको आरोग्य, ऐश्वर्य र दीर्घायु प्राप्तिको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाउने परम्परा छ । 

आजको दिन बिहान सबेरै उठी स्नान गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गरिन्छ । 

स्कन्दपुराणका अनुसार यस दिनका लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्ने वा नगरे पनि दाजुभाइ दिदीबहिनीको घर जाने उनीहरूले बनाएको भोजन गर्ने विधान छ । पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ ।

हिन्दु परम्परामा जन्मदिनमा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्ने विधान छ । तर यस दिन दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्छन् । 

सूर्यपुत्र यम (राज) र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका लगाउने, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन् ।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला अदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको छ ।