Newslaya Home

​‘हामीले धरानमा बसेर निकालेको कला पत्रिका देशकै पहिलो रहेछ’

बिहीबार २२, कार्तिक २०७५

धरान । धरानको कला (आर्ट) र कलाकारलाई संगठित रुपमा विकास र प्रवद्र्धन गर्न वरिष्ठ कलाकार तथा कला समिक्षक मुकेश मल्लको अतुलनिय योगदान रहेको छ । धरानलाई कर्मथलो बनाएर केही वर्ष धरानमा रहँदा उनले धरानको कला र कलाकारलाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपुर्ण भुमिका खेलेका छन् । केही दिन अघि धरानमा पर्यटन व्यवसायी बासुदेव बरालले उनै मल्लसँग धरानका कलाकार, पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिदिएका थिए । सोही अन्तरक्रिया कार्यक्रममा मल्लले सुनाएका अनुभवहरु जस्ताका त्यस्तै प्रस्तुत गरेका छौं :

कला संस्थाको स्थापना
म ३० साल देखि धरानमा झण्डै १० वर्ष जति बसेँ होला । बस्दै जाँदा ३३ सालतिर एउटा कला संस्था खोल्ने मन आयो । 

म विराटनगरको, त्यहाँ साहित्यकारहरु अशेष मल्ललगायतकाहरुले साहित्यीक संस्था खोलेका थिए । म पनि कविता लेख्ने भएकाले त्यस संस्थामा आबद्ध थिएँ । तर मेरो कविता राम्रो हुँदैनथ्यो होला म कहिल्यै पुरस्कार पाउँदिनथेँ । 

त्यसपछि म धरान आएको हुँ । 

त्यसले गर्दा पनि होला एउटा कला संस्था चाहि खोल्नु प¥यो भन्ने लाग्यो मलाई । धरानमा कलाकारहरु को हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, त्यतीकैमा हुलाक पोष्ट अफिसमा उपेन्द्र पागलसँग भेट भयो, मेरो दोकान पनि त्यही थियो । 

उनी पनि कलाकार भन्ने थाहा पाएपछि हामी दुई जना बस्यौँ । संस्था खोल्न ७ जना चाहिन्छ भन्ने थाहा भयो अनि कलाकारहरु खोज्न थाल्यौं । 

त्यसपछि कर्ण मास्केकोमा गयौं । उहाँ बिजनेस म्यानको रुपमा हुनुहुन्थ्यो । हामीले वहाँलाई अध्यक्ष बन्न प्रस्ताव गर्यौं । अरु कलाकारहरु खोज्दै जाँदा श्री सुब्बालाई भेट्यौँ । उहाँ चै बम्बैको आर्ट स्कुलबाट पढेर आउनु भएको रहेछ । तर फ्रस्टेट भएर सुतिरहनु भएको थियो । उहाँलाई सल्लाहकार बसिदिनु पर्यो भन्यौँ । त्यसै गरि अन्य कलाकार खोज्दै ७ जना पुरयाएर संस्था खोल्यौं । 

पहिलो कला पत्रिका प्रकाशन
पञ्चायत कालमा संस्था दर्ता गर्न एकदमै गाह्रो थियो । जसो तसो गरेर संस्था दर्ता गराएर अगाडी बढायौँ । कला संस्था खोलेपछि कला पत्रिका निकाल्ने रहर जाग्यो । पत्रिकाको लागि सामग्री चाहियो, त्यस बेला काठमाडौमा मात्रै कलाकारहरु थिए । अनि चिठी लेखेर हवाई पत्रमार्फत् काठमाडौँ पठाइन्थ्यो । त्यसरी पत्र पठाउँदा दुई जनाले मात्र जवाफ दिए । एउटा दुर्गा बराल र अर्को चाहि नारमानसिंह ।

उहाँहरुमार्फत् निरन्तर पत्रद्वारा म सम्पर्कमा आएँ । त्यसपछि काठमाडौसँग सम्पर्क बढ्दै गयो । हाम्रो सक्रियता बढाउन नगरपालिकाभित्र मोतिभवन थियो त्यसको साँचो मसँग हुने गथ्र्यो । त्यसपछि हामीले हरेक महिना एउटा एक्टिङ गर्ने कक्षा सुरु गर्यौं । त्यो क्रम बढ्दै गएपछि महिनामा ३÷४ वटासम्म हुन थाल्यो संस्थामा पनि करिब ८० जना सदस्य बनायौं ।

एउटा ठुलो समुह बनेपछि काठमाडौँसँग एक किसिमको युद्ध गर्यौं । हामीले काठमाडौसँग पत्राचारबाट प्रज्ञा प्रतिष्ठानबाट संस्थालाई मान्यता दिनुपर्यो भनेर माग गर्यौं । 

सत्यमोहन जोशी हुनुहुन्थ्यो । रोइकराई गरेपछि प्रतिष्ठानबाट बोलाईयो । यहाँबाट म र गोपाल कलाप्रेमी, पोखराबाट दुर्गा बराल र विश्व शाक्य गएका थियौं । हामी त्यहाँ गए पछि हामीलाई काठमाडौँ घुमाइयो । त्यहाँको नेशनल एक्जिबिसनमा भाग लियौँ । त्यो एक्जिबिसनमा भाग लिएपछि नेशनल लेभलमा एउटा कलाकार भइयो भन्ने चलन थियो । 

तर त्यसमा भाग लिन पनि त्यति सजिलो भने थिएन । त्यो एक्जिबिसनमा हामी सेलेक्सन नै नहुने किनभन्दा त त्यो लेभल नै नपुग्ने, अर्को त मान्छेलाई गन्दै नगन्ने । अनि त्यतिबेला सत्यमोहन जोशीसँग हामीले झगडा गर्नु परेको थियो । हामीले भन्यौं, ‘तपाइले स्तर हेर्नु भएन यो तपाइले जसरी पनि राख्नै प¥यो भने पछि सम्झौता भयो ।’

सम्झौतामा धरानबाट पठाउँदा हाम्रो खर्चले काठमाडौबाट फर्काउन पर्दा चै नाफाले फर्काइदिने तर पेन्टिङ चाहि जुन स्तरको भएपनि एक्जिबिसनमा टाँगिदिने सर्त राखियो । मलगायत कर्ण शाक्य नेशनल कलाकार भन्ने हामीले मेम्बरसिप पायौं ३३ सालमा । 

त्यसपछि कला पत्रिका निकाल्ने रहर जाग्यो । पत्रिकाको लागि अर्टिकल कसरी ल्याउने त ? अनि त्यति बेला नारमान सिंह, किशोर नेपाल र मनोज मिश्र, सुजल भट्टराईहरुको आर्टिकल मगाएर मैले सम्पादन गरेर पत्रिका निकाल्न थाल्यौं । पछि थाहा भयो कलासम्बन्धि निकालिएको त्यो पत्रिका नै नेपालको पहिलो कला पत्रिका रहेछ । काठमाडौमा पनि निक्लिदैन रैछ पछि ३८ सालमा नारमान सिंहले आफ्नो सम्पादनमा निकालेका छन् । 
एउटा रमाइलो पक्ष, पहिलो अंक निकालेको थाहा पाएपछि सिडिओ कार्यालेले हामीलाई समातेर लग्यो इनरुवा ।

त्यहाँको सि.डि.ओ ले भन्यो, ‘यो के निकालेको ?’ 
मैले भनेँ, ‘कलाको पत्रिका, किन ? यसमा के छ र ?’
अनि पत्रिकालाई पल्टाएको पिकासोको बारेमा एउटा आर्टिकल रहेछ । सुर्यराज भट्टराई, जो मृत्यु भईसक्यो, उहाँले लेख्नु भएको । 

सिडिओले सोध्यो, ‘ए के छापेको यसको फोटो ?’ 
मैले सोधेँ, ‘अनि यसको फोटो छापेर के भयो त ?’
त्यसपछि सिडिओले भयङ्कर हकार्यो । 
‘अनि के गर्नु पथ्र्यो त ?’ मैले सोधेँ 
‘सोध्नु पथ्र्यो,’ भन्दै सिडिओ कार्यालयले कागज गरायो । अबदेखि निकाल्न नपाउने, निकाल्यो भने यस्तो कारबाही गर्छु भन्यो । त्यसमा मैले हस्ताक्षर गरेर फर्किएँ ।

फर्किएपछि ३ अंकसम्म निकालेँ । त्यसपछि यस्तो खेदो भयो, थाम्नै सकिएन । निकाल्न बन्द गरिदिएँ । म अहिले काठमाडौ पुगेपछि थाहा भयो, त्यो ऐतिहासिक रहेछ । 

काठमाडौबाहिर पहिलो पटक धरानमा नेशनल एक्जिबिसन
झण्डै ८ वर्ष जति म काठमाडौँ बसेँ होला, मलाई लाग्छ सयौँ एक्जिबिसन गरेँ ।

त्यति बेला पहिलो नेशनल एक्जिबिसन भनेर हामीले ग¥यौँ । अहिलेसम्म काठमाडौंमा नेशनल एक्जिबिसन नाफाले एकेडेमीले मात्र गर्छ । धरानमा गर्ने भने पछि एकेडेमीले विरोध गर्यो । 

कलेज रोडमा रहेको खेलकुद भवनमा हामीले नेशनल एक्जिबिसन भनेर नेपाल भरिबाट कलाकार बोलायौं । अनि काठमाडौँबाट कृष्ण मानन्धरलाई बोलाएर जज बनायौँ । 

त्यसबेला उत्कृष्ट कला त काठमाडौकै हुने नै भयौं, कलाकारहरु आएका थिएनन् । अनि त्यसपछि कर्ण मास्के र म पुरस्कार लिएर काठमाडौँ गयौँ र काठमाडौँको एकेडेमीमा बोलाएर पुरस्कार दियौँ । त्यसपछि कालेबुङ गयौँ, त्यहाँ पहिलो पटक टिकट शो गर्यौं । 

त्यति बेला टिकट शो काठमाडौँमा पनि हुँदैनथ्यो । त्यहाँको टिकट शोमा पनि भयङ्कर भीड लाग्यो । तीन–चार हजार रुपैया उठेको थियो । त्यति भीड त कहिँ भएन ।

मैले अनुभव गरेको संसारमा गर्ने भनेको मान्छे एक्लैले हो । कोहि आउँछ, कोहि आउँदैन, कोहि पछि आउँछ, कोहि आउँदै आउँदैन भन्ने हिसाबले गर्नुपर्छ र कोहि कोहि गाँसिन आउँछ भने राम्रै छ । आउँदैन भने पनि राम्रै छ । 

कलाकार समाजको जिम्मेवारीमा
काठमाडौंमा गइसकेपछि कलाकार समाज भन्ने हामीले खोल्यौँ । त्यसमा नेपाल भरको कलाकार जम्मा भएको थियो । कलाकार समाज गठन भयो । त्यसमा पनि एक्जुकेटिभको चुनाव हुनपुग्यो ।

त्यहाँको चुनावमा यताबाट गएको दुर्गा बराल र म थिएँ । इलेक्सन हुने भएपछि दुर्गा बरालले कोटा मागे । मैले चै लड्छु नै भनेँ, लडेँ र जितेँ पनि । जिते पछि त्यहाँको एक्जुकेटिभ भइयो, पछि महासचिव पनि भइयो । र त्यो एकेडेमीको लागि धेरै कामहरु पनि गरियो ।