Newslaya Home

​आजदेखि नेपाल संवत् ११३९ र म्हः पूजा

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । आजदेखि नेपाल संवत् ११३९ सुरुभएको छ । आज देशभर खासगरी नेवार समुदायले याु संवत् मनाउँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत भएको विद्वानहरुको भनाई छ ।

नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको मान्यता छ ।