Newslaya Home

प्रहरीले पत्रकारलाई भ्यानभित्र कोचेर दुई घण्टा बन्धक बनाए

बुधबार २१, कार्तिक २०७५

विराटनगर । पटाका बरामद गरेको फोटो र भिडियो खिँच्दा विराटनगरका पत्रकार दुई घण्टा प्रहरीको भ्यानभित्रै बन्धक बनाइएका छन् । 

पत्रकार सोनुकुमार दासलाई प्रहरीले भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरेको हो । 

विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले पत्रकार दासलाई हप्काउँदै नियन्त्रणमा लिएको थियो ।

न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस् ? तँ को होस् ?’ भन्दै गाली गलौज गरेको थियो । पत्रकारले पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि मोबाइल र परिचयपत्र खोसेर जर्बजस्ती भ्यानमा कोचेको थियो । दुई घण्टा भ्यानमै राखेर विराटनगर बजार घुमाएको दासले बताए । 

उनी नेपाल पत्रकार महासंघका सदस्य पनि हुन् । 

पत्रकारलाई वडा प्रहरी कार्यालयको टोलीले दुई घण्टा घुमाई भट्टीमोडबाट छाडेको थियो । तर यो विषयमा जानकारी प्राप्त नभएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए । 
पत्रकार दासले पत्रकार भएको परिचय खुल्ने प्रमाण दिंदादिदैं ‘जंगबहादुर शैलीमा’ प्रहरीले दुव्र्यवहार गरेको गुनासो गरे । 

घटनाको निन्दा गर्दै नेपाल प्रेस युनियन मोरङले विज्ञप्ति जारी गरेको छ । युनियन अध्यक्ष कुमार लुईटेलले जारी गरेको विज्ञीतीमा घटनामा संलग्न प्रहरीलाई कार्वाही गर्न र पत्रकारले स्वतन्त्रता पूर्वक रिर्पोटिङ गर्ने अवस्थालाई कुण्ठित नगर्न ध्यानाकर्षण गराएको छ ।