Newslaya Home

​हिमायती : ‘राज्य र व्यवस्थाविरुद्धको देउसी’

बुधबार २१, कार्तिक २०७५

तल, तल मैदानै मा धानको बाला 
                 हो, झुल्न थाले
अब भने हाम्रो पनि आँखाहरु
                 हो, खुल्न थाले
धरान । २०४३ साल ताकाको धरानमा देउसी भैलोमा यही गीतमा नाँच्दा नाच्दै प्रहरीले हिमायती जनसांस्कृतिक समुहलाई घेराबन्दीमा पारेका थिए । उनीहरुको देउसीनै भाड्न खोज्दै थिए । धरान ७ स्थित शान्तिपथमा भैरहेको देउसीभैलोमा प्रहरीको धरपकडलाई स्थानीयले असफल पारिदिएका थिए । 

तत्कालिन व्यवस्थाका विरुद्ध देउसीभैलोमा जनताका गीतहरु गाउँदा स्थानीयहरु प्रहरीको विरुद्धमा उत्रन तयार भएका थिए, उनीहरुकै साथबाट हामीलाई प्रशासनले केही गर्न पाएन,समुहका अध्यक्ष हर्क चुम्मेले सुनाए ।
 २०३८ सालमा कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्याउन सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको थियो हिमायतीले । स्थापना भएको साल देखिनै देउसी भैलोमा तत्कालिन व्यवस्थाको विरुद्धमा जनतालाई जागरुप गर्ने, संगठनका लागि आर्थिक सहयोग संकलन गथ्र्यो । 

मादल बजाएर देउसीरे भट्टाउँदै खेलिने देउसीको रौनकनै हिमायतीले फेरिदिएको थियो । मादल संगै हार्मोनियम, कंगु, गीतार, सांरगी, बाँसुरी लगायतका बाद्यवादन लिएर सांगितिक माहौलमा जनताका दुख सुखका गीतहरु गाउँदै देउसी खेल्ने परम्पराको थालनी गरेको थियो हिमायतीले । 

ब्युझि उठ नारी हो,
         संघर्षको बाटोमा
कति पुस्ता बिति सके
        दासताको जातोमा

शहिदका सपना संग गासिएका गीतहरु, देशका लागि जागरुप गराउने गीतहरु बज्थे । जो गरिब दुखी जनता हो, जो बोल्न सक्दैनथे, त्यती बेलाको सत्ता संग लडाई गर्न सक्दैनथे, उनीहरुको आवाजलाई संगीतबद्ध गरेर राज्य सत्ताको विरुद्ध हाम्रो गीतहरु बज्थे । देशको उन्नती, समृद्धिका निम्ति रचिएका गीतहरु लाई निरन्तरता दिईरहयौं । त्यती बेला रेडियो नेपालबाट बजेटका गीतहरु ब्रुजुवा, जडसुत्रवाद गीत मान्थ्यौं, तर राष्ट्रभक्ति गीत पनि बज्थे, प्रेममय गीतहरुलाई अश्लिलता मान्थ्यौं, त्यतीबेला हाम्रो सोच जनसुत्रवाद थियो । 

देउसीको लागि मनोरञ्जन मात्रै होईन नेपाली जनतामा तत्कालीन व्यवस्थाको विरुद्धमा चेतना जगाउने, नेपाली जनताको गीतहरु, जो जनता संग प्रत्यक्ष गासिएको शब्द, संगीत लिएर आर्थिक संकलन संगै संगीतको माध्यमबाट स्वच्छ मनोरञ्जन संगै चेतना जगाउनका लागि निम्ती जनवादी गीत बोकेर देउसी भैलो खेल्ने गरिएको चुम्मे बताउँछन् ।  

तत्कालीन समयमा राजनितिक परिवर्तनका लागि आन्दोलनलाई सहयोग पुरयाउनका अन्य स्रोत थिएन । जुन विचार धाराबाट प्रभावित भएर लागिरहेका थिए । राजनितिक परिवर्तन, मुलुकको समृद्धि, नेपाली जनताको सुख सयलका लागि भित्री रुपमा विचार लिएर अघि बढेको थियो । राजनितिक परिवर्तनका लागि तयार रहेको सांस्कृतिक अभियानलाई सफल पार्न आर्थिक संकलन गर्न देउसी खेल्ने खेलिन्थ्यो । 

२०३८ सालमा हिमायती सांस्कृतिक समुह गठन भएको थियो । त्यस पछि निरन्तर ५४ साल सम्म जनताको गीत लिएर देउसी भैलो खेल्यौं । ‘त्यती बेला पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्यौं, बहुदल आए पछि नेपाली जनताले चाहेको जस्तो व्यवस्था नभए पछि त्यसको विरुद्धमा पनि लाग्यौं’ चुम्मेले सुनाए, ‘पछिल्लो समय समय परिवर्तन संगै खुल्ला संगीतमा पनि आयौं । अन्य विचार धारा बोकेको संगीतलाई पनि पछयाँउदै आयौं ।’

अहिले विश्व संगीत संग नजिक आउँदा नेपाली संगीतले क्षणिक आनन्द मात्रै दिने गरेको छ, जिवन्तता अहिलेको गीतमा देखिन्दैन । जनताको गीतहरुलाई जिवन्तता दिन हामी आफैले नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘संगीतको एरेन्जमा कमजोरी रहयो, अहिले पनि गाउँमा जिवन संग सम्बन्धित गीतहरु गाउन बजाउन हामी आफै पनि पछाडि परयौ त्यसको फाईदा अन्य संगीतले लियौ, क्षणिक मनोरञ्जनमा रमाउने त्यसले गर्दा ती गीतहरु कालजयी गीत हुँदैनन्, अहिलेको संजालले हामी माथि त्यस्ता गीतहरुले घर गरेको छ ।’ जनताका गीतहरु युवा पुस्तामा चेतना नआएको कारण र हामीले पनि बुझाउन नसकेको कारण जनताका गीतहरु देउसी भैलोमा सुनिन छाडेको उनको भनाई छ । 

आश्था अनि विश्वासको 
           दियो जलिरहोस
आत्माविश्वास जीन्दगीमा
           सधै उच्च बनोस्

जनताको गीत गाउँदै खेलिने देउसीमा आशिष पनि स्वाभिमानका लागि अटल रहन सन्देश हुने गथ्र्यो । प्रत्येक घरमा छुट्टा छुट्टै देउसी खेलिन्थ्यो, १ सय रुपैया देखि २सय ५० रुपैया सम्म दान दिने गर्दथे । अहिले फरक भएको छ । एउटा सिङगो टोललाई एकै ठाउँ भेला गराएर देउसी खेलिन्छ, उत्तेजक गीतहरुमा उत्तेजक नृत्य देखाईन्छ । गाउँघर नै थर्किने गरि आधुनिक बाजा, साउण्ड सिस्टमको आवाजले देउसीभैलोको आनन्दनै बिगारिदिने गरेको छ । 

अहिले देउसी भैलो खाली पेशा जस्तो भएको छ । वर्ष भरि अन्य काम गर्ने, अनि देउसी भैलोमा एउटा समुह बनाएर रकम उठाउने माध्यम बनेको छ । देउसी भैलोमा उठेको रकम नेतृत्व गर्नेले लाभ लिने, कलाकारहरुलाई पिकनिक लगेर खर्च गर्ने परिपार्टी बढ्दै गएको छ । सबै समुहले देउसी भैलोको रकम दुरुपयोग गरेका छन् भन्न खोजेको होईन् सचेत युवा वर्गले त्यसलाई सकारात्मक कार्यका लागि पनि सदुपयोग गरेका छन् । 

हिमायतीले नै पनि देउसी भैलोकै रकमबाट मृगौला पिडित कलाकार तथा पत्रकार प्रविण राईलाई २० हजार रुपैया सहयोग गरेको थिए । धरानका केही पत्रकारहरुको टिमले पनि देउसी भैलो खेलेको रकमबाट हकर ज्ञान बहादुर माझीलाई २० हजार सिड मनि दिएर घर नै बनाईदिएको थियो र अर्का सवारी दुर्घटनाबाट घाइते भएका मजदुर पुण्यप्रसाद प्याकुरेललाई १५ हजार शितमनी दिएर घर बनाउन सहयोग गरेका उदाहरण पनि छन् । 
अहिले पनि जनताका गीत लिएर देउसी भैलो खेल्दा जनताका गीतहरु प्रति आकर्षित हुने गरेको चुम्मेको अनुभव छ । उनी भन्छन्, ‘हामीले त्यसलाई निरन्तरता दिन सकेका छैनौं ।’

बजारमा चलिरहेका गीतहरु दैनिक जसो सुनिरहेका हुन्छन् । प्राय: सबै देउसी टोलिले एकै प्रकारका गीतहरु गाउँने, नाँच्ने गर्दछन् । सबै तिर एकै खाले गीतहरु सुनिरहेकोले जनताका गीतहरुले फरक अनुभव गराउँछ, त्यसैले अझै पनि जनताले त्यस्ता गीतहरु सुन्ने चाहना राख्छन् ।’ 

आर्थिक सहयोग सहज ढंगले उठाउन सक्ने भएकाले यसलाई आर्थिक संकलनका लागि मात्रै लिने गरिएको छ । पाश्चात्य संगीतले नेपाली सांगितिक पनलाई छोप्दै गएको छ । हाम्रो मौलिक पनलाई जोगाउन सकिएको छैन् । पाश्चात्य संगीतलाई साथ लिदै हाम्रो नेपाली पन र जनताको गीतलाई जोगाउन पनि आवश्यक छ ।