Newslaya Home

​आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । आज (बुधबार) नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती हो । देवकोटाको जन्मजयन्तीको अवसरमा स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा चर्चा कमाएको पुस्तक हो ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । 

महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य छन् ।

महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको हो ।