Newslaya Home

​दोस्रो मेयरकप स्कुल ओलम्पिक मंसिर ५ देखि

बुधबार २१, कार्तिक २०७५

धरान । विद्यालय स्तरबाटै खेलकुदको विकाश र खेलाडि उत्पादन गर्ने उद्देश्यले अघिल्लो वर्ष देखि धरानमा शुरु भएको मेयरकप स्कुल ओलम्पिकको दोस्रो संस्करण मंसिर ५ गते देखि हुने भएको छ । 

स्थानीय निकायको निर्वाचन पश्चात खेलकुद विकाशका लागि छुट्टै खेलकुद विकाश उपसमिती गठन गरि आयोजना हुँदै गरेको दोस्रो चरणको मेयरकप स्कुल आलम्पिक हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरि खेलकुद उपसमितीले जानकारी गराएको हो । मंसिर ५ देखि १७ गते सम्म संचालन हुने प्रतियोगितामा सामुदायिकका १३ र संस्थागतका ४१ गरि ५४ वटा विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

१२ वटा विधागत खेलकुद प्रतियोगिताका विजेता विद्यालयहरु मध्ये सबै भन्दा बढी स्वर्ण पदक विजेता विद्यालयलाई प्रथम पुरस्कार १ लाख २० रुपैया नगदसहित प्रमाण पत्र प्रदान गरिने सम्मेलनमा जानकारी गराएको छ । त्यसै गरि दोस्रो विजेतालाई ८० हजार, तेस्रो विजेतालाई नगद ५० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने जनाएको छ । ७३ स्वर्ण, ७३ कास्यपदक र १ सय २४ रजत पदकका लागि कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताका लागि उपमहानगरपालिकाले १९ लाख २३ हजार ५ सय रुपैया विनियोजन गरेको छ । 

ओलम्पिकमा मंसिर १ गते देखि फुटबल, ६ गते देखि बास्केटबल, भलिबल र ७ गते देखि ब्याडमिन्टन, ८ गते क्रिकेट, ताईक्वान्डो, ९ गते बुद्धिचाल, कबड्डी, १० गते देखि एथ्लेटिक्स, १२ गते देखि टेबुल टेनिस, १५ गते देखि कराँते प्रतियोगिताहरु संचालन हुने जनाएको छ ।