Newslaya Home

​बिरामी आमालाई खाना लिएर हिडेका युवक प्रचण्डको सवारीमा रोकिए, तिरे १५ सय रुपैया जरिवाना

मङ्गलबार २०, कार्तिक २०७५

विराटनगर । प्रचण्डको सवारी अघि मोटरसाइकल चलाएको आरोपमा विराटनगरमा एक युवकलाई १५ सय रुपैया जरिवाना गरिएको छ । बिरामीलाई खाना लिएर हिडेका इटहरीका सरोज कार्कीलाई प्रचण्डको सवारी अघि मोटरसाइकल कुदाएको आरोपमा जरिवाना गरिएको हो ।

कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठुली आमालाई उनले खाना लिएर हिँडेका थिए । 

सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोके अनि को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स खोसिदिए । 

ठुली आमालाई खाना पुर्‍याउने हतार भएका बेला कार्कीले वरपर ध्यान दिन पाएनन् । तर त्यहाँ प्रचण्डको सवारी हुँदै थियो । 

सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफ्नो समस्या बताए । तर प्रहरीले कुरै सुनेनन् । अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै रोकेर लाइसेन्स खोसे । तर प्रचण्डको गाडी आएकै थिएन ।

दाहाल मुल सडकबाट गएपछि कार्कीलाई जान दिइयो । तर उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । 

उता यस विषयमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

तस्वीर: फाइल तस्वीर