Newslaya Home

​भारतीयलाई नागरिकता : एक जना जेल चलान, वडाध्यक्षसहित १५ जना फरार

सोमबार १९, कार्तिक २०७५

विराटनगर । गैर नेपाली नागरिकलाई नागरिकता सिफारिस गरेको आरोपमा कटहरी गाउँपालिका १ का सत्य नारायण पोद्दार पुर्पक्षको लागि जेल चलान भएका छन् । 

पोद्दारले ७ जना भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा जिल्ला अदालत मोरङले पुर्पक्षकोलागि जेल चलान गरेको हो । विराटनगर महानगरपालिका १ का अध्यक्ष उद्धव अर्यालसहित १६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत मोरङमा ‘झुटा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर गरिएकोमा पक्राउ परेका सत्यनारायण जेल चलान गरिएका हुन् । अन्य १५ जना फरार छन् ।

वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित सत्यनारायण पोद्दार, झुटो विवरण पेस गरी नागरिकता लिने विराटनगर– १ का सञ्जित पोद्दार, धिरज पोद्दार, राजेन्द्र पोद्दार, जितेन्द्र पोद्दार,  रोशनकुमार पोद्दार, मिथिलेश्वर पोद्दार र पवन पोद्दारविरूद्ध मुद्दा दायर गरिएको हो ।

त्यतै सर्जमिन मुचुल्कामा साक्षी बस्ने विराटनगर १ का सीमादेवी राम ९हरिजन०, मनोज हरिजन, छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ का सुरेश पोद्दार, कटहरी १ का बैद्यनाथ शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो ।

झुटा विवरण पेस गरी नागरिकता दिलाउने सत्यनारायण पोद्दार र वडा सदस्य रमेश साहलाई ६ वटै मुद्दामा प्रतिवादी बनाइएको छ ।

वडाबाट सिफारिस गर्ने वडा सचिव पुष्पा तिम्सिनालाई ४ वटा मुद्दामा प्रतिवादी बनाइएको छ भने वडा अध्यक्ष उद्धव अर्याललाई २ वटा मुद्दामा प्रतिवादी बनाइएको छ । 

बिदेशी नागरिकले झुटो विवरण पेस गरी नागरिकता लिएमा १ वर्षदेखि ५ बर्षसम्म कैद सजाय वा ५० हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । सिफारिस वा सनाखत गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।