Newslaya Home

​आयो रसिलो चाड तिहार

-बाबुराम कार्की
सोमबार १९, कार्तिक २०७५

सुखमय पारी सब संसार 
आयो रसिलो चाड तिहार 
साना स्कुले केटाकेटीहरुको बोलीमा यस्ता लयबद्ध कबिता गुञ्जिन थालिसकेका छन् । गाँउ, सहर, चोकचोक र बस्तीबस्तीमा तिहारले झपक्कै छोपिसकेको छ । झिलिमिलि बत्ती र दियोको उज्यालोले गाँउ, सहर, चोकचोक र बस्तीबस्तीमा रौनकता थपिएको छ । 

तिहार सबैको घरआगनमा भित्रिसकेको छ । यमराज, बलिराज र रामचन्द्रको जिवनका घटनाहरु मिलेर बनेको त्यौहार शब्दको अप्रभंशित रुप तिहार हो । 

काग तिहार, कुकुर तिहार, लक्ष्मी पुजा, गोबद्र्धन पुजा, भाइटिका गरी यी पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहा आई बसेको र यमुनाले उनको सेवा र पुजा गरेको घटनालाई आबद्ध गरी यी दिनलाई यमपञ्चक पनि भन्ने गरिन्छ  ।

पौराणिक कथा अनुसार रावणबाट अपहरित आफ्नो पत्नी सीतालाई अयोध्या ल्याई अग्नि परीक्षा गरी लक्ष्मी देबीको रुपमा दरबारमा भित्राई कात्तिक कृष्ण आम्बास्य सो दिन परेकाले अहिले पनि सोहि दिन लक्ष्मी पुजा गरिन्छ  ।

त्यसैगरी पृथ्बी जोत्ने गोरुको भोलीपल्ट पुजा गरियो र रामका दिदी बहिनीहरु टाढाटाढाबाट आएर आफ्ना भाईलाई पुजागरी मिस्ठान्न भोजन गराएर अयोध्या राज्यमा हर्षोल्लासपूर्ण तरिकाले रामचन्द्रको जयकार मनाउँदै खुसीयालीको साथ देउसी भैलो खेल्दै आएको कथन छ । 

राजा बलीले बिष्णुको तपस्या गर्दा इन्द्रको आसन गर्दा इन्द्रको आसन डगमगायो र इन्द्रको आज्ञा अनुसार भगवान बिष्णु ब्रम्हाण बालकको रुप धारण गरेर बली राजाको राज्यमा आएर केहि नमागी ब्रम्हाणलाई हिड्न नदिएकाले बालकले तिन पाइलो जमिन मागे र पहिलो पाइलो टेग्दैमा सारा देश पातालमा भासीयो ।

बिष्णु ब्राम्हण नै भई दरबार मै बसिरहे । बिष्णुकी पत्नी लक्ष्मी आफ्ना पतिलाई खोज्दै आउँदा श्रीमान बिष्णु र दाजुलाई सगैँ पाइन् । अनि त्यही बडो धुमधाका साथ खुसियाली मनाइयो । खुसीयाली मनाउने  खबर गर्नका लागि कागको प्रयोग गरियो भने रक्षकका रुपमा कुकुर, आमाको रुपमा गाईलाई र भूमिको रुपमा गोरुलाई लिएको मानिन्छ । त्यसैले तिहारको प्रथम दिन कागलाई पुजा गरेर खुवाएपछि मात्र खाने चलन छ । 

त्यस्तै तिहारको देस्रो दिन कुकुरलाई पुजा गरी मिठो खानेकुरा खान दिई कुकुर तिहार मनाउने चलन छ । गाईलाई आमाको रुपमा मान्दै तेस्रो दिन गाईको पुजा गरिन्छ भने चौथो दिन भूमिको मालिक गोरुको पुजा गरिन्छ । क्रमसँगैको पुजापछि लक्ष्मीले यमपञ्चकको पाचाँै दिन अर्थात कार्तिक शुक्ल द्धित्तीयको दिन दाजुको लामो आयु र स्वास्थ्य दिर्घायुको कामना गर्दै यमराजले पनि सघार काटेर दाजुलाई क्षति पुराउन नसकोस् भनी सघारमा ओखर फुटाई तेलले छेकेर पुजा गरी  टिका लगादिन् । 

त्यसैबेला देखि दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई टिका लगाईदिने परम्परा बसेको पाइन्छ । सोहि अवसरमा बली राजाले सबै प्रजाहरुलाई खुसीयाली मनाउन छिमेकीको घरघरमा गई लक्ष्मी पुजाको दिन छोरी मान्छेले भैलो खेल्ने र छोरा मान्छेले देउसीरे खेल्ने चलनको सुरुवात गरे ।

तिहारको अवसरमा खुसीयाली मनाउन बली राजाले प्रजालाई छाडिदिए । कसैले जुवा, कसैले तास र कसैले देउसीरे खेल्ने परम्परा बसेको पुराण कथाहरुमा पाईन्छ । त्यसबेला खुसियाली मनाउन जुवातास खेल्ने गरेतापनि अहिले बिकृतिको रुपमा परिणत भएको छ । खुसियालीको नाममा ठुलो धनराशी सिध्याउनेहरुको जमात ठुलै छ । आजभोली देउसीरे खेली मनोरञ्जन गर्नेको रुपमा बिकृतीहरु फैलिन थालेको छ । देउसिरे भन्दा पनि डिजेमा रमाउने युवाहरुले देउसिरेलाई पनि मोर्डन बनाएका छन् ।