Newslaya Home

​पानीबाट मात्रै तरकारी खेती (भिडियोसहित)

हाईड्रोपोनिक्स सिस्टम नेपालमा सम्भव छ : कृषक कृष्ण राई
सोमबार १९, कार्तिक २०७५

धरान । हाईड्रोपोनिक्स सिस्टम पानीबाट मात्रै खेती गर्न सकिने उदाहरण धरानका कृषक कृष्ण राईले देखाएका छन् । सिस्टमका लागि आवश्यक सामग्री स्वदेशमै पाउन नसकिए पनी स्थानीय स्रोत साधनलाई प्रयोग गरेर उनले मनग्ये आम्दानी गर्न सफल भएका छन् । 

माटो बिना पानीबाट मात्रै खेती गर्ने पद्धती हो हाईड्रोपोनिक्स सिस्टम । नेपालमा हाईड्रोपोनिक्स सिस्टमबाट खेती सम्भव छैन् भन्नेहरुका लागि धरानका सोताङ अर्गानिक एग्रिकल्चर सेन्टरका संचालक कृष्ण राईले गलत सावित गरिदिएका छन् । थोरै क्षेत्रफलमा पानीको माध्यमबाट मात्रै खेती गरेर आफ्नो आम्दानी बढाईरहेका छन् । 

पानीको पाईपलाईन बिछयाएर प्लाष्टिकका गिलासहरुमा राखिएको विरुवालाई चाहिने सम्पुर्ण खाना पानीबाटै दिईन्छ । बाह्य मुलुकहरुले गरिरहेको प्राक्टिसलाई राईले नेपालमा पनि भित्रयाएका छन् । युटयुबको माध्यमबाट विदेशमा लगाएको हाईड्रोपोनिक्स सिस्टमबाट उनले आफ्नै बारीमा खेती लगाएका छन् । यस सिस्टमबाट कम जनशक्तिमा खेती गर्न सकिने भएकाले कृषकहरुका लागि उपयोगि रहेको उनी बताउँछन् ।

उनले भने, ‘यो फार्मिङ चै विशेष गरेर यस खेतीले जनशक्तिलाई कम गर्छ । एक पटक सेट गरे पछि सिस्टमले काम गर्छ । यसमा विरुवालाई गोड्न, मल हाल्न आवश्यक पर्दैन । यसले ८५ प्रतिशत जनशक्ति कम गर्छ । थोरै पानीले धेरै खेती गर्न सकिन्छ ।’ 

उनका अनुसार हाइड्रोपोनिक्स सिस्टमबाट लगाएको खेतीबाट हेभी उत्पादन हुन्छ । माटोमा लगाईने खेती भन्दा ३ गुणा बढी उत्पादन गर्न सकिन्छ । उनले भने, ‘माटोको खेती गर्दा १ पटक हार्भेष्ट गरिसक्दा होईड्रोपोलिङमा ३ पटक सम्म हार्भेष्ट गरिसकेको हुन्छौ । उत्पादन पनि बढी हुन्छ ।’ 

नेपालमा भित्रयाएको यो प्रविधि नेपाली परिवेशमा निकै कठिन हुने उनको अनुभव छ । प्राविधिकको कमी, सामग्रीहरुको अभावले सहज रुपमा सिस्टम विकाश गर्न नसकिने उनले बताए । तर पनि स्थानीय स्रोत साधनलाई प्रयोग गरेर पद्धतिको विकाश गर्न सकिने उनको भनाई छ । उनले भने, ‘नेपालमा सम्भव छैन भन्छन, अन्य देशमा छ नेपालमा किन छैन् । सम्भव छ गर्नु परयो, कृषकहरु त्यो प्रविधिमा पुगिसकेका छैनन् । राज्यले यो खेती प्रविधिलाई प्राथमिकतामा राखेर विभिन्न् कार्यक्रम योजना ल्याउनु पर्ने हुन्छ त्यसलाई ल्याईरहेको छैन् । त्यसैले सकिदैन भनिन्छ, तर सम्भव छ ।’ 

हाइड्रोपोनिक्स टेक्निकमा वनस्पतिलाई माटोबिना नै उमारिन्छ । यो प्रविधिमा बिरुवालाई आवश्यक पर्ने पोषक तत्व पानीको माध्यमबाट पठाइन्छ । बिरुवा एक मल्टी लेयर फ्रेमको साहारामा अडिएको पाइपमा उम्रिन्छ र वनस्पतिको जरा पाइपको भित्र पोषकतत्व भरिएको पानीमा छाडिन्छ । माटो प्रयोग नहुने हुँदा यो प्रविधिले न छतमा भार पर्छ, बिल्कुल अलग्गै सिस्टम भएका कारण छतमा कुनै परिवर्तन पनि गर्नु पर्दैन ।

पाईपलाईनबाट पानी वितरण गरिन्छ, पानी बग्ने पाईपलाईनमा प्वाल पारेर प्लाष्टिकका गिलासमा बिरुवा रोपेका छन् । उनले विरुवाका लागि उनले प्रयोग गरेको गिलास उपयुक्त नभएको बताउँछन् तर हाईडोफोनिक्स गिलासका लागि महंगो पर्ने भएकाले स्थानीय स्रोतको प्रयोग गरिएको बताए ।