Newslaya Home

​युक्रेनमा एसिड आक्रमणबाट भ्रष्टाचारविरोधी अभियन्ताको मृत्यु

सोमबार १९, कार्तिक २०७५

काठमाडौं । युक्रेनमा भ्रष्टाचारविरोधी अभियानमा लागेकी प्रमुख अभियन्ताको एसिड आक्रमणबाट मृत्यु भएको छ । 

काटेरीना हान्डज्युकमाथि तीन महिनाअघि जुलाई ३१ मा दक्षिणी शहर खेर्सोनमा एसिड आक्रमण भएको थियो ।  आक्रमणपछि शरीरको ४० प्रतिशत भाग डढेको र आँखामा कडा क्षति भएको थियो । 

हान्डज्युक खेर्सोन नगर परिषद् सदस्य पनि थिइन् । राजधानी कीएभमा उनको ११ पटक शल्यक्रिया गरिएको थियो ।

राष्ट्रपति पेट्रो पोरोशेन्कोले हत्याराहरूलाई सजाय दिइनुपर्ने बताए । आक्रमणका आरोपित पाँचजना हिरासतमा छन् । 

हान्डज्युकको मृत्युको स्पष्ट कारण थाहा हुन सकेको छैन तर स्थानीय सञ्चारमाध्यमले रगत जमेका कारण उनको मृत्यु भएको उल्लेख गरेका छन् । 

सेप्टेम्बर महिनामा हान्डज्युकले एउटा भिडियो पोस्ट गर्दै युक्रेनीहरूलाई देशमा व्याप्त भ्रष्टाचारविरुद्ध लड्नका लागि आग्रह गरेकी थिइन् । 

भ्रष्टाचारविरोधी अभियन्ताको मृत्युपछि आइतबार सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया गरेका छन् ।