Newslaya Home

​६० करोडको झिलिमली बत्ती आयात

आइतबार १८, कार्तिक २०७५

काठमाडौं । यसपाली तिहारका लागि ६० करोड मूल्य बराबरको झिलिमिली बिजुली बत्ती विदेशबाट आयात गरिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए । 

तिहारमा शहरमा मात्रै नभइ गाउँघरमा पनि झिलिमिली बत्ती जोड्ने प्रचलन रहेको छ । 

अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । 

यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।

तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले झण्डै २–३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।

त्यसअनुरुप नेपालमा पछिल्ला केही दिनमा दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । 

न्युनतम प्रतिगोटा ५० सयदेखि १२–१५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।

पछिल्लो समयमा विभिन्न मूल्यका क्लब तथा रोटर लाइटहरु पनि तिहारमा लागि प्रयोग हुन थालेका छन् । 

यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समयमा समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यावसायी बताउँछन् ।