Newslaya Home

यस वर्ष पनि फेसबुकका ८१ हजार खाताको विवरण चोरी

आइतबार १८, कार्तिक २०७५

काठमाडौं । गत वर्ष झै यो वर्ष पनि फेसबुकका खाताको विवरण चोरी भएको समाचार आएको छ ।

बिबिसिको रिपोर्टअनुसार यस वर्ष ८१ हजार खाता चोरी भएका छन् । ति खाताको बिस्तृत विवरण ह्याकरले बिक्री गरिरहेका छन् । ति खाताहरु बिक्रीमा रहेको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको वेबसाइटको डोमेन रुसको सेन्ट पिटसबर्गमा रहेको जनाएको छ ।

दुई महिना अघि ति खाताहरु चोरी भएको रिपोर्टमा उल्लेख छ । ति ह्याकरले १२ करोड फेसबुक प्रयोगकर्ताको खाता विवरण आफूसँग रहेको बिबिसिलाई बताएको छ । 

यसमा अनुसन्धान गर्दा ८१ हजार फेसबुक प्रयोगकर्ताको विवरण र उनीहरुका निजी मेसेज सहित बिक्री गरिरहेको खुलासा भएको छ ।

त्यस्तै, ति ह्याकरसँग एक लाख ७६ हजार फेसबुक प्रयोगकर्ताको इमेल र फोन नम्बर समेत रहेको पाइएको छ । 

रिपोर्टका क्रममा बिक्री भइरहेका खातावालाहरुसँग पनि कुराकानी गरिएको छ । ६ जना प्रयोगकर्तासँग गरिएको कुराकानीमा उनीहरुका मेसेज भएको पुष्टि भएको छ ।

यसरी बिक्री भइरहेका खाता युक्रेन, रुस, बेलायत, अमेरिका, ब्राजिल लगायतका देशका भएको जनाएको छ ।

फेसबुकले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।