Newslaya Home

​सन्दीप लामिछानेसहित चार खेलाडीलाई कारवाही

आइतबार १८, कार्तिक २०७५

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेसहित ४ खेलाडी कारवाहीमा परेका छन् । खेल भावना विपरित व्यवहार देखाएको भन्दै उनीहरुलाई कारवाही गरिएको हो । 

शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेलाई आइसिसी आचार संहिताअनुसार कारबाही गरिएको पिपिएलले जनाएको छ ।

चितवन टाइगर्सविरुद्धको खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए । सन्दीपसँगै विवादमा उत्रिएका तीव्र गतिका बलर किशोर महतोको पनि १ अंक घटाइएको छ । 

चितवनका खेलाडी सनी पटेललाई पनि सोही कारबाही गरिएको छ । सो खेलमा चितवनले विराटनगरलाई ४ विकेटले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।

यता हुलास काठमाडौं रोयल्सका अमनरसिंह रटेउलाको पनि १ अंक घटाइएको छ। अमरले शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार देखाएका थिए ।