Newslaya Home

​अन्ततः रोकियो धरानको विवादास्पद मेला

बिहीबार १५, कार्तिक २०७५

धरान । विरोध र विवादका बिच धरानमा सुरु भएको मेला अन्ततः स्थगित गरिएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलमा दशैंतिहारको अवसरमा लगाउने भनिएको मेला नलाग्ने भएको हो । 

प्रशासनलेसमेत सुरक्षा दिन नसक्ने भनेको मेला लगाउन धरान उपमहानगरपालिकाले छिमेकी युवा समुहलाई अनुमती दिएको थियो । तर मेला सञ्चालनकै विषयमा राजनीतिकरण भएर विवाद र तोडफोड भएपछि आयोजक संस्था मेला सञ्चालनबाट पछि हटेको हो ।

छिमेकी युवा समुहले एक विज्ञप्ती प्रकाशित गर्दै मेला विविध कारणले आयोजना हुन नसकेको जानकारी गराएको छ । समुहका अध्यक्ष राजेन्द्र राईले जारी गरेको विज्ञप्तीमा छिमेकी युवा समुहको पवित्र उद्देश्य नयाँ छिमेकी एम्बुलेन्स खरीद सहयोगार्थको लागि स्वीकृति प्रदान गर्ने नगर कार्यपालिका एवं जनप्रतिनिधिहरुलाई आभार व्यक्त गरिएको छ ।

असुरक्षा हुने भन्दै विगत ३ बर्षदेखि रोकिएको मेला यो वर्ष भने दशैं अघि आकस्मिकरुपमा नगर कार्यपालिका बैठकमा प्रस्ताव लगेर पास गरिएको थियो । निर्णयसँगै उपमहानगरपालिका नेतृत्वको चर्को आलोचना भएको थियो । 

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, संघीय लिम्बुवानलगायत विभिन्न दलहरुरुले मेलाको विरोध जनाउँदै आएका थिए । विगतका वर्षहरुमा मेला सञ्चालनमा व्यापक आर्थिक चलखेल हुने गरेको थियो । यो वर्ष पनि आर्थिक कारणले नै विवाद भएको बताइएको छ । एउटा पक्षले नपाउने भएपछि अर्को पक्षको विरोध गरिएको आरोप धरानकै एउटा समुहले लगाउने गरेको छ ।