Newslaya Home

सरकारको नजरमा पूर्वका १४ जिल्लामा १४ वटा मात्र पर्यटकीयस्थल, पाँच जिल्लामा पर्यटकीय स्थल छैनन्

बिहीबार १५, कार्तिक २०७५

इटहरी । सरकारले नेपालको १ सय नयाँ गन्तव्यहरुको सुची सार्वजनिक गरेको छ । जसमा पुर्वका १४ जिल्लाबाट १४ वटा गन्तव्य सुचीमा अटाएका छन् । 

सरकारले स्थापित भइसकेको पर्यटकीय गन्तव्यहरुलाई प्रर्वद्धन गर्नुपर्ने सुची र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यहरुको सुची गरेर दुई किसिमले सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहिबार सार्वजनिक गरेको गन्तव्यहरुको सुचीमा १ नं प्रदेशका पाँच वटा जिल्लामा पर्यटकीय गन्तव्य उल्लेख छैन । मोरंग, भोजपुर, पाँचथर, उदयपुर र तेह्रथुममा पर्यटकीय गन्तव्य नरहेको उल्लेख छ । तर ती ठाउँमा विकास गरिनुपर्ने गन्तव्यहरु भने रहेको उल्लेख गरिएको छ ।

सरकारले बनाएको सुचीमा सुनसरीका चार वटा पर्यटकीय स्थलमात्र अटाएका छन् । सुनसरीका बराहक्षेत्र, धरान, इटहरीको तालतलैया र कोशी टप्पु वन्यजन्तु आरक्ष मात्र पर्यटकीय स्थल उल्लेख छन् । सुनसरीमा विकास गरिनुपर्ने पर्यटकीय क्षेत्रहरुको सुची लामो भएपनि नसमेटिएको स्थानिय पर्यटन व्यवशायीहरुले गुनासो गरेका छन् ।

यता मोरंगमा त झन् कुनै पर्यटकीय स्थल नै छैन । सम्भावना बोकेको क्षेत्रको रुपमा बेलबारीको धनपालगढी उल्लेख छ । त्यहाँको विराट राजाको दरबारलगायतका क्षेत्र वेवास्ता गरिएको छ । 

यता झापामा बाँसबारी सिमसार क्षेत्रलाई मात्र पर्यटकीय क्षेत्र उल्लेख गरिएको छ । तर झापामा नयाँ सम्भावित गन्तव्यहरु भने निकै धेरै उल्लेख गरिएको छ । त्यहाँ तीन वटा नयाँ सम्भावनाका क्षेत्र उल्लेख गरिएको छ । 

यस्तै अन्य धेरै पर्यटकीय स्थलहरु सरकारको सुचीमा अटाएका छैनन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक रुपले अत्यन्त महत्वपूर्ण क्षेत्रहरुसमेत छुटेका छन् ।