Newslaya Home

​फेसबुकले कमायो ३ महिनामा साढे १३ अर्ब डलर

बिहीबार १५, कार्तिक २०७५

काठमाडौं । सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर कमाएको छ ।

सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्टअनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या दुई अर्ब २७ करोड रहेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड रहेको छ ।

फेसबुकको प्रयोगकर्ताको संख्या गत वर्षको तुलनामा ९ प्रतिशतले बढि हो । विश्वको क्षेत्रगत वृद्धिदरको हिसाबले एसिया प्रशान्त क्षेत्रमा फेसबुकले सबैभन्दा धेरै ३८ प्रतिशत वृद्धिदर हासिल गरेको छ ।

त्यस्तै युरोपमा ३४ र उत्तर अमेरिकामा ३३ प्रतिशत वृद्धिदर हासिल भएको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले रिपोर्टमा भनेका छन्, ‘हाम्रो समुदाय तथा व्यवसाय निरन्तर रुपमा तिब्र विस्तार भइरहेको छ । अहिले दुई अर्ब भन्दा धेरै मानिसले दिनमा कम्तिमा एकपटक फेसबुक चलाउँदछन् ।’

अहिले फेसबुकले प्राइभेट मेसेजिङ र स्टोरिजमा उत्कृष्ट सेवा प्रदान गरिरहेको र भिडियो र कमर्श क्षेत्रमा पनि पर्याप्त अवसर रहेको उनको भनाई छ ।

फेसबुक कम्पनीमा अहिले ३३ हजार ६०६ जना कर्मचारीले काम गरिरहेका छन् ।

रिपोर्ट अनुसार पछिल्लो समयमा भारत, इण्डोनेसिया र फिलिपिन्समा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या बढेकोले दैनिक सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड पुगेको छ ।