Newslaya Home

​हेटौंडाका २७ उद्योग कारवाहीको दायरामा

मङ्गलबार १३, कार्तिक २०७५

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रका २७ उद्योगलाई कारवाही गरिने भएको छ । व्यवस्थापन कार्यालयले उद्देश्य विपरित उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई कारवाही गर्ने भएको हो ।

व्यवस्थापन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरित उद्योग सञ्चालन गर्ने ५ वटा उद्योगलाई जरीवाना सहितको कारवाही र वर्षौंदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्द गर्ने सम्मको कारवाहीको प्रकृया अघि बढाएको छ ।

दर्ता समयमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर उद्योग सञ्चालन गर्ने भविश्य मैदा मिल, सुजल डेरी ईन्डष्ट्रिज, सुजल फुड प्राली, बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ ।

यस्तै त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार रुपियाँ जरीवाना गरिएको कार्यालय प्रमुख नेपालभुषण वैद्यले जानकारी दिए ।

कारवाहीमा परेका उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न समेत निर्देशन दिएको वैद्यले बताए ।

यसैगरी कार्यालयले वर्षौदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधार समेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न आदेश दिएको छ ।

बैद्यका अनुसार उक्त समयसीमा भित्र ती औद्योगिक प्रतिष्ठानले काम नगरे सम्झौता रद्द हुने गरी कारवाही गरिने छ ।