Newslaya Home

२२ बिघे क्षेत्रको जग्गा हडप्न भूमाफियाको चलखेल, नापी र मालपोतले पुर्जा नदिएपछि अदालतमा मुद्धा

मङ्गलबार ०६, कार्तिक २०७५

धरान । बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफियाको चलखेल सुरु भएको छ । करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको उक्त जग्गा आफ्नो नाममा पार्न माफियाहरु लागिपरेका हुन् ।

इटहरीको कान्छी चोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यो जग्गामा आँखा परेको हो । स्थानीय राजनीतिक दलको नेताहरुको मिलेमतोमा भूमाफियाहरुले चलखेल थालेका छन् ।

२०२७ सालमा नापी हुँदा २२ जनाको नाममा फिल्डमा जग्गा दर्ता भएको हुनाले उक्त क्षेत्र २२ बिघे नामले प्रसिद्ध छ । २२ बिघे भनिए पनि कुल जग्गाको क्षेत्रफल ३९ बिघा छ । स्रेस्ता कायम नभएको र पुर्जा पनि नबनेको उक्त जग्गालाई वनले आफ्नो दाबी गर्दै आएको छ।

अहिले हकवाला जग्गाधनी भनिएका व्यक्तिलाई भूमाफियाले सबै सेटिङ मिलाइदिने भन्दै सहमतीमा ल्याएका छन् । उनीहरुबिच ८ बुँदे सहमति नै भएको छ । शर्तमा जग्गा छुट दर्तासम्बन्धी काम गर्दा लाग्ने सम्पूर्ण खर्च, कानुन व्यवसायी, वारेसलगायत खटाउँदा तथा जग्गादर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च भूमाफियाले बेहोर्ने र जग्गाधनी भनिएका व्यक्तिको नाममा जग्गा दर्ता भई पुर्जा प्राप्त हुनासाथ ४५ प्रतिशत जग्गा भूमाफियाले देखाएको मानिसको नाममा पास गरिदिनुपर्ने उल्लेख छ ।

सहमतिमा हकवाला जग्गाधनीले सहीछाप गरेका छन् भने साक्षीमा चन्द्र मगर र बद्री राउतको नाम छ । योजनाअनुसार मालपोतले स्रेस्ता कायम गर्ने र पुर्जा दिने काम नगरेपछि भूमाफियाकै डिजाइनअनुसार हकवाला भनिएका मध्ये १६ जनाले उच्च अदालत विराटनगरमा रिटसमेत दायर गरेका छन् । 

फिल्डबुकमा जग्गाधनीको नाम भए पनि स्रेस्ता कायम नभएको र पुर्जा नबनेको यस्तो छुट जग्गा दर्ता गर्ने प्रक्रिया छुट्टै छ । सिधै मालपोतले दिन सक्दैन । सोको लागि सरकारले समिति बनाउनुपर्छ । 

२२ बिघे जग्गा वनको सिमांकनभित्र पर्छ । २२ बिघे क्षेत्रको जग्गाधनी भनिएका अधिकांशको मृत्यु भइसकेको छ । केही वृद्ध अवस्थामा छन् । जग्गाधनी भनेर नाम उल्लेख भए पनि उनीहरु कसैले भोगचलन गरेका छैनन् । तर अहिले भूमाफियाहरुले दुवैलाई फाइदा हुने भन्दै जग्गाधनीलाई उचालेर मुद्धा हाल्न लगाएका हुन् ।

कस कसको नाममा थियो बाइस बिघे ?
२०२७ सालमा भएको नापीमा २२ बिघे क्षेत्रको करिब ३९ बिघा जग्गा भक्तिदेवी शाही, तारादेवी श्रेष्ठ, हस्तबहादुर तामाङ, विष्णुमाया तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङ, प्रेमबहादुर बानियाँ, थामसेर राई, केदार राउत, भक्तबहादुर कार्की, दीपक परियार, ध्रुवलाल श्रेष्ठ, नर्वदा पुलामीलगायत २२ व्यक्तिको नाममा फिल्डबुकमा उल्लेख भएको थियो । तर, फिल्डबुककै कैफियतमा २२ बिघे क्षेत्रबारे तत्कालीन नापी गोश्वाराबाट २०३८ मंसिर १० गतेको पत्र अनुसार पुर्जा रोक लगाएको उल्लेख छ । अब अदालतको निर्णय नै अन्तीम हुनेछ ।