Newslaya Home

​४० हजारमै नक्कली नोट छाप्ने मेसिन : जेलमा बन्यो योजना, इन्टरनेटले सिकायो

मङ्गलबार ०६, कार्तिक २०७५

काठमाडौ । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेकाहरुले नक्कली नोट छाप्ने मेसिन बीरगञ्जबाट किनेको खुलेको छ । मेसिनको लागि उनीहरुले ४० हजार रुपैया खर्च गरेका थिए ।

नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेका पर्साका २७ वर्षिय इन्द्रबहादुर श्रेष्ठको योजनापछि काठमाडौका नारायण श्रेष्ठले इन्टरनेटमा खोजेका थिए । उनैको सिफारिसपछि इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं लगेका थिए । 

नोट छाप्ने योजना भने इन्द्रबहादुरले जेलमा बनाएका थिए । ‘इन्द्रबहादुर सिरहा कारागारमा थिए । उनी हातहतियार खरखजना मुद्धामा जेल परेका थिए । नक्कली नोट छाप्ने योजना उनलाई त्यहीँ फुर्यो । जेलबाट निस्केपछि उनी लागुऔषध कारोबारमा लागे । सो क्रममा उनको भेट कक्षा १२ मा पढ्ने नारायणसँग भयो । नारायण नोट छाप्ने तरिका खोज्ने इन्टरनेट सर्चमा लागे । त्यसलगत्तै दुवैले मिलेर मेसिन खरिद गरेर सोही मेसिनबाट नक्कली नोट छापे ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नोट छाप्ने मेसिन कीर्तिपुर मच्छेगाउँ–४ स्थित आफू डेरा बसेको कृष्णबहादुर क्षेत्रीको घरमा राखेका थिए । दुवैले पहिलो खेपमै उक्त मेसिनबाट हजार दरका पाँच लाख रुपैयाँ नक्कली नोट छापेका थिए । त्यसमध्ये ३ लाख ७० हजार रुपैयाँ मात्रै बरामद भएको छ । 

बाँकी एक लाख ३० हजार रुपैयाँ भने बजारमा गइसकेकाले प्रहरी अहिले सोही नोटको खोजीमा जुटेको छ ।

चाबहिलस्थित चाँदनी डान्स एन्ड बारमा बिल तिर्ने क्रममा नक्कली नोट दिएपछि बारलाई शंका लागेर प्रहरीलाई खबर गरेको थियो । पक्राउ पर्नेको सुचनाको आधारमा दुई श्रेष्ठ पक्राउ परेका हुन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • bishnushàrmaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०६, कार्तिक २०७५ ०९:०८
Karbaigarnaparchha