Newslaya Home

​अनु मल्लिक इन्डियन आइडलको जजबाट निकालिए, दुई जना युवतीले लगाए हिंसाको आरोप

आइतबार ०४, कार्तिक २०७५

काठमाडौं । भारतका प्रख्यात संगीतकार अनु मल्लिक सिंगिङ रियालिटी शो इन्डियन आइडलको जजबाट निकालिएका छन् । १० वर्षदेखि चल्दै आएको इन्डियन आइडलमा मल्लिक ७ वर्षदेखि जज रहँदै आएका थिए ।  

भारतकी एक गायिका श्वेता पण्डितले मल्लिकले आफूलाई सन् २००१ मा एक गीत गाउन मौका दिने बहानामा चुम्बन गर्न दबाब दिएको खुलासा एक ट्विटमार्फत् गरेकी थिइन् । #metoo मा मुछिएपछि उनलाई जजबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००१ को मध्यतिर आफूलाई मल्लिकले भेट्न बोलाएको पण्डितले बताएकी छिन् । १५ वर्षको उमेरमा अवसर पाएपछि खुसी भएर आफ्नी आमासँग सो स्टुडियोमा पुगेकी श्वेतालाई एउटा क्याबिनमा एक्लै पर्खन लगाइएको थियो ।

केही छिनमा अनु मल्लिक आएर उनलाई एउटा गीत बिना संगीत गाउन लगाए ।
उनको आवाज सुनेपछि मल्लिकले आफू उनलाई सुनिती र शानसँग गाउन दिन तयार रहेको बताउँदै त्यसको बदलामा किस गर्नुपर्ने शर्त राखेको पण्डितले बताएकी छिन् । 

आफूले अंकल भनेर बोलाउने व्यक्तिले गरेको व्यवहारले आफू मर्माहत भएको र घटनाबारे कसैलाई केही नबताएको उनले लेखेकी छिन् । उनको युवाकालमा सो घटनाले निकै असर पारेको र आफूले यो क्षेत्र नै छोड्ने मनस्थितिसमेत उनले बनाएकी थिइन् । 

मल्लिकले पण्डितको भनाइको खण्डन गरे पनि अर्की गायिका सोना मोहपात्रले अनु मल्लिकलाई पहिल्यै आरोप लगाइसकेकी छिन् । मोहपात्रका अनुसार मल्लिकले उनलाई “माल” भन्ने गरेको तथा रात–बिरात फोन गर्ने गरेका थिए ।