Newslaya Home

​तीन महिनादेखि तलब नपाएपछि गाउँपालिकामा तालाबन्दी

आइतबार ०४, कार्तिक २०७५

लहान । तीन महिनाको तलब नपाएपछि सिरहाको नरहा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । 

दशैंमा पेश्कीको त कुरै छाडौं, तीन महिनाको तलबसमेत नपाएपछि तालाबन्दी गरिएको स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेव बिन्देश्वर यादवले बताए । 

नरहा गाउँपालिकाअन्तर्गत चार वटा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक, सिअहेव, अहेव, अनमि र कार्यालय सहयोगी गरी ३० जना, कृषि, पशुतर्फका छ जना तथा गाउँपालिकाका पाँच वडामा कार्यरत सचिवसहित अधिकृतसम्मका गरी ११७ जनाले तलब पाएका छैनन् । 

यता गाउँपालिकाले भने पछिल्लो असार ३१ भित्र भइसक्नु पर्ने दोस्रो गाउँसभा कार्यपालिकाको खिचातानीले नहुँदा तलव खुवाउन समेत अप्ठ्यारो भएको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झाले गाउँसभा नहुँदा कर्मचारीको तलव मात्र होइन, दैनिक कार्यालय संचालन गर्न पनि कठिनाई भएको जानकारी दिए । 

कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को गाउँसभा नहुँदासम्म पछि योजना तथा कार्यक्रममा समायोजन हुने गरी प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालको नाममा अख्तियारी दिई बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।