Newslaya Home

​रोनाल्डोले छाडेपछि रियल म्याड्रिडको बिजोग, ५ मध्ये ४ खेलमा हार

शनिबार ०३, कार्तिक २०७५

एजेन्सी । रोनाल्डोले छाडेपछि रियल म्याड्रिडको प्रदर्शन खस्केको छ । मड्रिडले लगातार खराब प्रदर्शन जारी राखेको छ ।
ला लिगा तथा च्याम्पियन्स लिगका खेलमा संघर्ष गरिरहेको रियल शनिबार साँझ भएको खेलमा पराजित भएको हो ।
स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियललाई लेभान्तेले २–१ गोलले हरायो ।

रियलले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन । गत सेप्टेम्बरमा इस्प्यान्योललाई १–० गोलले हराए यता रियलले जित निकाल्न सकेको हो । त्यसयता रियललाई ला लिगामा सेभिल्लाले ३–० ले हराएको थियो । लगत्तै भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले गोलरहित बराबरी खेलेका थिए ।

त्यसपछि भएको च्याम्पियन्स लिगको खेलमा रियललाई रसियन क्लब सिएसकेए मस्कोले १–० गोलले पराजित गरेको थियो । यस्तै पछिल्लो ला लिगाको खेलमा रियललाई अलाभेसले १–० गोलले पराजित गर्दा रियल लगातार चौथो खेलमा गोल तथा जितबिहीन बनेको थियो । पाँचौ खेलमा पनि जितबिहीन बनेको क्रममा रियललाई शनिबार लेभान्तेले सिकार बनायो ।

पाँचौ खेलमा पनि गोलबिहीन हुनबाट भने मार्सेलले जोगाएका थिए । उनले रियलका लागि ४ सय ८२ मिनेटपछि गोल गरेका हुन् ।

हारसँगै रियल ला लिगाको अंक तालिकाको पाँचौ स्थानमा सीमित छ । रियलले ९ खेलबाट १४ अंक जोडेको छ । शीर्ष स्थानको अलाभेसको ९ खेलबाट १७ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको सेभिल्लाको १६ अंक छ भने साविक विजेता बार्सिलोना १५ अंक जोडेर तेस्रो स्थानमा छ । १५ अंक जोडेको एट्लेको चौथो स्थानमा छ ।