Newslaya Home

रावण दहन गर्ने क्रममा भारतमा ६० भन्दा बढी मानिसलाई रेलले किच्यो (भिडियोसहित)

शनिबार ०३, कार्तिक २०७५

काठमाडौ । रावणको दहन गर्ने क्रममा रेलले किचेर भारतको अमृतसर सहरमा कम्तिमा ६० जनाको ज्यान गएको छ । अन्य १५० जना बढी घाइते भएका छन् ।

उत्तरी राज्य पञ्जाबस्थित सो शहरमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा रेल कुदेको थियो । 

राती रावण दहन गर्ने समयमा निकै होहल्ला रहेको र पटाकासमेत पड्केको थियो । सो क्रममा रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् ।

निकै सानो त्यो ठाउँमा करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए । 

रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए । कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए । रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो । त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए । 

घटनास्थलमा सरकारको व्यापक विरोध भइरहेको छ। पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मृतकका परिवारलाई पाँच पाँच लाख दिने घोषणा गरेका छन्।

मोदीले ट्वीट गर्दै घटनाले दुःख लागेको प्रतिक्रिया दिएका छन् ।