Newslaya Home

आमरण अनशनकै क्रममा पर्यावरणविदको निधन

शुक्रबार २६, असोज २०७५

काठमाण्डौ । भारतमा विगत ११२ दिनदेखि अनशन बसेका पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । 

गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय उनको अनशनकै क्रममा निधन भएको हो ।
उनले गत बुधबारदेखि जलसमेत त्यागेका थिए । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गंगाको स्वच्छताका लागि बारम्बार गुहार मागेका थिए । आफ्ना माग सुनुवाई नभएको भन्दै उनी अनशन बसेका थिए ।

उनले गंगा नदीमा विद्युत परियोजना सञ्चालन गर्ने सरकारी योजनाको विरोध गर्दै आएका थिए । उनका माग पुरा नगरेका मोदीले निधनमा भने दुःख व्यक्त गरेका छन् ।