Newslaya Home

चीन–भारत जोड्ने सडकको भीर फुटाउने जिम्मा सेनालाई दिने तयारी

शुक्रबार २६, असोज २०७५

खाँदबारी  । चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्यले गति लिन नसकेपछि ठूला चट्टान रहेको भीर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको छ।

किमाथांका–विराटनगर–रानी सडक निर्माणका क्रममा चट्टान भएको क्षेत्रमा भीर फुटाउने जिम्मा सेनालाई दिने तगारी भएको सांसद राजेन्द्र गौतमले जानकारी दिए।

सांसद गौतमका अनुसार किमाथांका जोडिन बाँकी २३ किलोमिटरमध्ये ठूला चट्टान भएको क्षेत्र करिब १५ किमि भएकाले त्यस क्षेत्रको कार्य सेनालाई नै दिने तयारी भएको हो। 

खाँदबारी–किमाथांका सडकको स्तरोन्नति र ट्र्याक खोल्ने काम उत्तर–दक्षिण (कोसी) सडक आयोजनाले गरिरहेको छ। 

सडक कार्यालयले किमाथांका–हटिया र खाँदबारी–हटिया दुईतिरबाट सडक खनिरहेको छ। सडक निर्माणका लागि हालसम्म दुई अर्ब ३९ करोड बजेटमध्ये दुई अर्ब ११ करोड खर्च भइसकेको उत्तर–दक्षिण सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।