Newslaya Home

​इटहरी बजारमा कुहिएको मासु

शुक्रबार २६, असोज २०७५

इटहरी । इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको भेटिएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागि उपभोक्ता मंच नेपालका अध्यक्ष ठगेन्द्र आर्चायका अनुसार केहि पसलमा खसी र कुखुराको कुहिएको मासु समेत बेच्न राखेको पाइएको हो । 

अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा. मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसावले खान योग्य नरहेको पाइएको बताए । पशु वधशाला तथा मासु जाँच नियमावलि २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरिएको नपाएको उनले बताए । 

डा. महतोका अनुसार पसलमा जाली शिशा लगाउनु पर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने बनाइदिनु पर्ने, मूल्यसूची वोर्ड राखिनुपर्ने, औजार र जोख्ने समान सफा हुनुपर्नेमा अधिकाँशमा त्यस्तो नभएको भटिएको थियो । 

डा महतोले मासुका कारण दुई सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने बताए । 

अधिकाँश मासु पसलले ब्यवसाय दर्ता नै नगरि पसल संचालन गरिरहेको पाइएको बजार अनुगमन टोली संयोजक विजय कुमार मगरले बताए । उनले पहिलो पटक सुधारका लागि सचेत गराइएको अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएको मगरले जानकारी दिए ।