Newslaya Home

​इटहरीमा अत्याधुनिक मल सञ्चालनमा

बिहीबार २५, असोज २०७५

इटहरी । इटहरीमा सेन्ट्रल प्लाजा नामक मल सञ्चालनमा आएको छ । यो मललाई राजधानीबाहिरकै अत्याधुनिक दावी गरिएको छ ।

नेपालमा व्यपारीक मलहरु संचालनको क्रम बढ्दै गइरहेको समयमा पूर्वमा पनि सुविधासम्पन्न मलको आवश्यकता बुझेर मल सञ्चालन गरिएको सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए । 

रेष्टुरेन्ट, लज, सिनेमाहलदेखि साना खुद्रा पसलहरुसम्म रहेको यो मल अत्याधुनिक सुविधायुक्त रहेको उनले बताए । दुई वटा लिफ्ट, स्कालेटर सहितको मलमा पर्याप्त पार्किङ व्यवस्था रहेको छ । इटहरीको मुख्य चोकमै रहेको यो मलमा पार्किङको पर्याप्त सुविधाका कारण पनि मलमा सर्वसाधारण ग्राहकहरुको भीड बढ्ने श्रेष्ठले बताए ।

प्लाजामा बैङ्क, ब्यूटी पार्लर, डेन्टल, कन्सल्टेन्सी, फुडकोर्ट गेमजोनको ब्यवस्था छ । यस्तै एक सय ३४ जना अट्ने दुई वटा सिनेमाहलसमेत सञ्चालनमा आएको छ भने ३३ कोठासहितको गेष्टहाउससमेत मलमा हुने उनले बताए ।

इटहरीलाई पूर्वको राजधानी प्रस्ताव गरिएपनि इटहरीमा धेरै कुराको अभाव रहेको मलका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । ‘यो मल बनाउँदा पनि हामीले ९० प्रतिशत मानिस र सामान बाहिरबाट ल्याउनुपर्यो,’ उनले भने, ‘अब व्यवशायीहरुले पनि यस्ता सेवा सुविधा यहीँ पाइने गरी आफुलाई विकास गर्नुपर्छ ।’

उनले पूर्वमा मल संस्कृति बढ्दै गइरहेकोले यो मलको सञ्चालनबाट व्यवशायीक सफलता पाउने विश्वास व्यक्त गरे ।