Newslaya Home

सुन भनेर पहेँलो धातु बेच्ने दुई जना पक्राउ

बिहीबार २५, असोज २०७५

बुटवल । पहेँलो धातुलाई सुन भनी झुक्याएर बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २७ वर्षीय राजु परियार र नवलपरासीका ३० वर्षीय अब्दुल पखिया रहेका छन् । 

उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई असोज २२ गते पहेंलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर झुक्याई २१ लाख २५ हजार रुपैयाँमा बेचेर भागेका थिए ।

पछि उक्त वस्तु सुन नभएको थाहा पाएपछि घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । सोही आधारमा खोजतलास गर्दा परियार र पखिया पक्राउ परेका हुन् । उनीहरुको साथबाट १२ लाख रुपैयाँ नगद, नक्कली सुनको ढिक्का एक थान र दुई थान मोबाइल बरामद भएको छ ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।