Newslaya Home

​महोत्तरीमा माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते

बिहीबार २५, असोज २०७५

धनुषा । महोत्तरीमा दीपावलीको तयारीको लागि माटो लिन गएका चार बालिका माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

पुरिएका चार बालिका मध्ये एकजना बालिकाको अवस्था गम्भीर रहेको जनाइएको छ । महोत्तरी जिल्ला औरही नगरपालिका–३ श्रीपुरका विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

यस्तै, अन्य घाइते हुनेहरुमा औरही नगरपालिका–३ श्रीपुरका संझारो महतोको ६ वर्षीया छोरी रीता महतो, दरेश यादवको १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया वसन्ती यादव रहेको स्थानीय बासिन्दाले जनाएका छन् । तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

बिहान १० बजे तिर माटो लिन गएका बेला माथिबाट माटोको ढिस्को खसेर चारै बालिका पुरिएपछि स्थानीयले उद्धार गरेका थिए ।