Newslaya Home

​सिरहाका मेयरमाथि आक्रमण, आरोप उपमेयरमाथि

बिहीबार २५, असोज २०७५

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानमाथि आक्रमण भएको छ । 

केन्द्र सार्ने विषयमा भएको विवाद निरुपणको लागि बोलाइएको विशेष नगरसभा सकेर मंगलबार साँझ घर फर्किने क्रममा कर्जन्हाकै बगाहा चोकमा उनीमाथि आक्रमण भएको हो ।

आक्रमणका विषयमा मेयर पासमानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । मेयर सवार ना १ झ १६३९ नम्बरको स्कार्पियोमा भीडले गरेको ढुङ्गा प्रहारबाट गाडीका सिसा फुटेका छन् । 

मेयर पासमानले आफूमाथि कर्जन्हा नगरपालिकाकै उपमेयर ज्ञानु श्रेष्ठले खटाएको भीडले आक्रमण गरेको आरोप लगाएका छन् ।

नगरपालिका कार्यालयबाट बाहिरिँदा केही व्यक्तिले आफूमाथि सुनियोजित रुपमा ढुङ्गामुढा गराएको मेयर पासमानले बताएका छन् । 

उपमेयर श्रेष्ठले भने नगर प्रमुखले आफूमाथि लगाइएको आरोप निराधार रहेको दावी गरेकी छन् । केन्द्र सार्ने विषयलाई लिएर बगहाका स्थानीय जनता आक्रोशित भइरहेकोले उक्त आक्रमण उनीहरुलेनै गरेको हुनसक्ने उनले बताइन् ।