Newslaya Home

सुनसरीमा महिला हिंसा बढ्दै

बुधबार २४, असोज २०७५

धरान । बलात्कार तथा महिला हिंसाका घटनाहरु सार्वजनिक भईरहँदा सुनसरीमा पनि महिला माथी हुने हिंसाका घटनाहरु बढ्दै गएको पाईएको छ । 

ओरेक नेपाल सुनसरी शाखाले सार्वजनिक गरेको तथ्याङक अनुसार ७५ वैशाख देखि यता देशै भरि भएका १ सय ७० वटा महिला हिंसाका घटना मध्ये सुनसरीमा २४ वटा घटना दर्ता भएको छ । ओरेकका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सुनसरीमा ३१ वटा बलात्कार र २१ वटा बलात्कारको उद्योगको घटना दर्ता भएको तथ्यांक छ । 

ओरेक नेपाल सुनसरीले पत्रकारहरु संगको छलफल कार्यक्रममा सबै भन्दा बढी १५ जना घरेलु हिंसा, ४ जना बलात्कार र ५ जना माथि कुटपिटका घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आर्थिक वर्षको साउन महिना सम्ममा १ सय ३ वटा घरेलु हिंसा, १५ वटा बलात्कार र ५बलात्कार उद्योगको घटना दर्ता भएको ओरेकी सुनसरी जिल्ला संयोजक शान्ती दनुवारले बताईन् । उनले भनिन्, ‘नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै १ हजार ४ सय ८० बलात्कारका घटना दर्ता भएका छन् । जस अनुसार हरेक दिन चार जना महिला तथा बालिका माथि बलात्कारका घटना हुने गरेको पुष्टि हुन्छ ।  यो अवस्थाले नेपालमा महिलाको मानव अधिकारको अवस्थालाई चित्रण गरेको छ ।’ 

एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनाहरुलाई सामान्य रुपमा लिन नहुने उनको सुझाव छ । उनले घटनाहरुले दीर्घकालिन रुपमा ल्याउने परिणामहरुमा विशेष ध्यान दिनुपर्ने आजको आवश्यक्ता रहेको बताईन् । घटनामा संलग्न दोषीलाई कारवाही त अनिवार्य छँदै छ तर दोषीलाई दिइएको कडा कारवाहीले मात्रै न्यायले पूर्णता पाउन नसक्ने उनको दाबी छ ।