Newslaya Home

आज घटस्थापना, घरघरमा जमरा राखिदै

बुधबार २४, असोज २०७५

काठमाडौं । नेपालीहरुको महान चाड बडादशै आजबाट सुरु भएको छ । 

प्रत्येक वर्ष आश्‍विन शुक्ल प्रतिपदादेखि सुरु हुने दसैँको आज पहिलो दिन घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आव्हान गरी पूजा आरम्भ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । 

आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।