Newslaya Home

​सर्दु खोलाको पुल निर्माण तिब्र, माघ भित्र संचालनमा आउने

मङ्गलबार २३, असोज २०७५

धरान । वर्षौ देखि वर्षाको समय सर्दु खोलामा बाढी आउँदा साविक विष्णुपादुका हाल धरान उपमहानगरपालिकाको वडा नम्बर २० र १७ को आधा भागको सम्बन्धनै विच्छेद हुने गरेको थियो । 

धरान भित्रैका वडाहरु संगै बराहक्षेत्र, रामधुनी नगरपालिकाको पुर्वी भरौलका कृषकहरुको उत्पादन धरान बजार सम्म ल्याउन समस्या भोग्दै आएका थिए । ती समस्याहरुबाट अब माघ देखि पुर्ण रुपमा मुक्त हुने भएका छन् । लामो प्रतिक्षा पछि धरान–चतरा सडक खण्डको सर्दु खोलामा पक्की पुल निर्माणले तिब्रता पाए संगै उनीहरुको समस्या चाडै नै हट्ने विश्वास छ । 

वर्षौ देखि वर्षामा धरान संग सम्बन्ध विच्छेद नै गराउने सर्दु खोलामा  २ सय ५० मिटर लम्बाईको पुलको निर्माण कार्यले तिब्रता पाए संगै स्थानीयहरु हर्षित बनेका छन् । ११ मिटर चौडाईको पुल आउँदो माघ महिना सम्ममा सम्पन्न हुने गरि निर्माण कार्य अघि बढेको छ । पुल निर्माण हुने भएपछि धरान, बराहक्षेत्र, उदयपुर, रामधुनी नगरपालिकावासीलाई राहत हुने भएको छ । 

भौतिक तथा योजना मन्त्रालयको चुरेफेदी मार्ग अन्र्तगत सिन्धुलीको भिमान देखि धरान सम्मका खोलाहरुमा ४३ वटा पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्सनलाई दिएको छ । जसमध्ये सर्दु खोलाको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न मन्त्रालयले निर्देशन दिए पछि पुल निर्माणको कार्यले तिब्रता पाएको हो । 

वडा नम्बर १७ का वडाअध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज) को विशेष पहलमा सर्दु खोला सहित धरान जोडने ३ वटा खोलामा पुल निर्माणले प्राथमिकता पाएको हो । पटनाली, सर्दु र ठकुरी खोलामा पुल निर्माण भईरहेको छ । पुल निर्माण पश्चात बराहक्षेत्र, वेलाहा र रामधुनी नगरपालिकाका क्षेत्रहरुबाट कृषि जन्य उत्पादनले धरानको बजार पाउने वडा नम्बर १७ का अध्यक्ष भट्टराईले बताए । ‘धरानको बजार वृद्धि हुन्छ, कृषिजन्य उत्पादनहरु सहज ढंगले बजार ल्याउन सकिन्छ’, उनले भने । 

नेपालमा केही वर्ष अघि भित्रिएको बक्स गर्डर डिजाईनबाट निर्माण गरिएको छ । ईन्जिनियरका अनुसार प्रि स्ट्रेस केबलहरुको प्रयोगबाट पुलको निर्माण गरिएकाले ७० वर्ष सम्म यसको आयु रहेको ठेकेदार कम्पनीका ईन्जिनियर रविन्द्र राज रिजालको भनाई छ । 

दुई वर्षमा सक्ने भनिएको पुल १ वर्ष पनि नपुग्दै निर्माण सम्पन्न उन्मुख रहेको छ । स्थानीय जनप्रतिनिधीहरुको सहयोगले कुनै अवरोध बिना करौडोको निर्माण कार्य पनि समयअघि नै सम्पन्न गर्न सकिने उदाहरण बनेको छ ।