Newslaya Home

​लाइसेन्स राखेर रेडियो बजाउने ठेकेदार बाजेको घरको दशैं सम्झना

–सरोज बराल
सोमबार २२, असोज २०७५

हाम्रो घरबाट पुर्वपट्टी पर्थ्यो ठेक्दार बाजेको घर । राई भएपनि हामी बाजे र मामा माइजु भन्थ्यौं । मामाले दुईटी बिहे गर्नु भएको थियो । जेठी माइजु तर्फको एउटा छोराको सानैमा मृत्यु भएको थियो । म सायद भरखरै एक कक्षा पढ्न थालेको थिएँ कि थिइँन कुन्नी त्यो बेला ।

सायद तिन दिनमै शुद्ध्याईं गरिएको थियो क्यार । त्यसदिन मलाई भान्जा भनेर पनि होला, बाहुनको छोरा भनेर पनि होला मलाई नयाँ हाफ प्यान्ट र गन्जी लगाइ दिनु भएको थियो । पछि घर जाने बेलामा एक कचौरा दुध सहित त्यो कचौरा दिनु भएको थियो । मैले दुध खान र कचौरा लान मानेको थिइँन । खोइ किन हो कुन्नी थाहा छैन । पछि शायद मलाई माइजुले के के भनेर फकाउनु भयो । मैले दुध पिएँ । 

यो राईको घर, प्रत्येक साल हामी टीकाकै दिन टीका लाउन जान्थ्यौं । बलि दिन आँगनमा एउटा काठको खम्बाजस्तो आँगनमा गाडिएको हुन्थ्यो । त्यसैलाई मौलो भनेर भोजराज राइले भनेको थाहा छ । नत्र मौलो भनेको मलाई थाहै हुने थिएन । 

यो घरमा दशैंमा टीका लाउन जाने क्रममा नै मैले थाहा पाएको हो, राईको चुलो छुनु हुँदैन भन्ने कुरा । 

तर मामा÷माइजू नभएको बेलामा त्यो चुलोमा अनेकौं पटक सुठुनी, आलु पोलेर खाइएको छ ।
पछि बाजेको मृत्यु भयो । तर टीका लाउन जाने क्रम निरन्तर चली रह्यो । मामाको पनि मृत्यु भयो । एक बर्ष छोडेर टीका लाउन गइ नै रह्यौं । 

पछि जनमुक्ती पार्टी र गोरेबहादुर खपाङ्गीको दशैं बहिस्कार अभियान चल्यो । त्यो साल पनि टीकाको साँझ टीका लाउन भनेर गयौं । माइजूले हामीले टीका लाउन छोडेको भन्नुभयो । मन अमिलो पार्दै टीका नलगाई फर्कियौं । 

पछि फेरि छोरीचेली सबैजना एकमुस्ट भेटघाट पनि हुन छाड्यो भनेर दशैंमा टीका लगाउन थाल्नुभयो अरे भन्ने त सुन्यौं तर त्यो घरमा फेरि टीका लगाउन जान छोडियो । गाउँघरको एउटा सम्बन्धलाई चटक्क माया मारिएछ । धेरै बर्ष पछि दुई महिना जति पहिले त्यो घरमा गएर माइजूलाई त भेटें । त्यो घरमा हामी बच्चा हुँदै खेल्ने उफ्रने गरेको खाट त्यसैगरी बाहिर रहेछ । त्यो खाटमा बसी रहेको बाजेको कल्पना गरेंछु । 

एकैछिन गफ गरेर फर्किएँ । हाम्रो गाउँमा पहिलो पटक लाइसेन्स राखेर रेडियो बजाउने त्यो ठेक्दार बाजेको घर । अनि दशैंमा टीका लाएर मुट्ठी भरी नअटाउने गरि पैसा दिएको सम्झना हरेक दशैंमा याद हुन्छ नै ।