Newslaya Home

प्रदेश १ को नामाकरणका लागि इटहरीमा बहस, पाँच नाम प्रस्तावमा

शनिबार २०, असोज २०७५

इटहरी । प्रदेशको नामाकरणका विषयमा चौतर्फी चर्चा भइरहेको बेला इटहरीमा शनिबार बिहान १ नं. प्रदेशको नामाकरणका विषयमा बहस गरिएको छ । 

नागरिक समाज इटहरीले आयोजना गरेको कार्यक्रममा भुगोलका ज्ञाता उमानाथ रिजालले कोशी प्रदेश, सञ्चारकर्मी तथा पहिचालनकारी अभियान्ता जनकऋषि राईले किराँत प्रदेश, विष्लेषक मोहन तिम्सिनाले चोमोलुङमा, सत्यनारायण राजधामीले सगरमाथा प्रदेश नाम राखिनु पर्ने धारणा प्रस्तुत गरेका थिए । सो विषयमा उनीहरुले अवधारणापत्र नै प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै रिजालले कोशीले हिमालदेखि तराइसम्म समेट्ने र कुनै जाति वा संस्कृतिलाई पनि पक्षपात नगर्ने विचार राखे । उनले कोशीको उत्पत्ती सगरमाथाभन्दा अघि भएको र कौशिक सभ्यताको रुपमा स्थापित रहेकोसमेत बताए ।

यस्तै सभ्यताको रुपमा वैदिक कालदेखि निरन्तर रुपमा रहेको किरात नाम प्रति सम्मान गर्दै किरात प्रदेश नामाकरण हुनुपर्ने धारणा जनकऋषि राईले प्रस्तुत गरेका थिए । उनले किराँतको विषयमा ऋग्वेदमासमेत उल्लेख भएकोले किराँत प्रदेशले लिम्बुवान, खम्बुवान जस्ता राज्यलाईसमेत समेट्ने दावी गरे ।

यता विश्लेषक मोहन तिम्सिनाले सगरमाथाको पुरानो र स्थानिय नाम चोमोलुङमा रहेकोले सोही नामलाई प्रदेश नामको रुपमा राख्न सु्झाव दिए । यसो गर्दा स्थानिय भावनाको समेत सम्बोधन हुने उनको भनाई छ ।

यस्तै सर्वाधिक लोकप्रिय प्रस्तावमध्ये रहेको सगरमाथा नेपालको पहिचान भएकोले यसकै नामबाट प्रदेशको नाम राख्नुपर्ने धारणा सत्यनारायण राजधामीले राखेका थिए । उनले ‘तमाम नेपालीको एकताको मियो र विभिन्न नेपाली जातीलाई एकसुत्रमा बाध्ने भएकाले प्रदेशको नाम सगरमाथा राखिनु पर्ने’ बताए ।

यस्तै यता विजय लुम्फुङवा लिम्बुले किराँत–लिम्बुवान नाम राख्न प्रस्ताव गरेका छन् । उनले अरुण पूर्वका ९ जिल्ला पहिले लिम्बुवान राज्यका रुपमा रहेको र पूर्वमै किराँत सभ्यताको समेत अस्तीत्व रहेकोले किराँतलाईसमेत समेटेर किराँत–लिम्बुवान राज्य बनाउनुपर्ने बताए ।

प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद भइरहेता पनि त्यो नाम किन राख्ने भन्ने विषयमा भने कहिँ कतै प्रष्ट धारणा र बहस नआएकोले कार्यक्रम गरिएको नागरिक समाज इटहरीका कमलेश पौडेलले बताए । 

प्रदेश १ का विभिन्न जिल्लाका प्रदेश सांसदसमेत उपस्थित उक्त कार्यक्रममा प्रस्तुत अवधारणाले सांसदहरुलाई प्रदेश नामको विषयमा निर्णय लिन सहयोग गर्ने नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले जानकारी दिए । कार्यक्रम महासचिव राजु केसीले सञ्चालन गरेका थिए ।