Newslaya Home

​जान्नुहोस् खानेकुरा खाने सही तरिका

बुधबार १७, असोज २०७५

खानेकुरा नै हाम्रो शरीरको लागि शक्तिको श्रोत हुन् । खानेकुरामा पाइने भिटामिन तथा प्रोटिन जस्ता तत्त्वले हाम्रो शरीरको नियमित संचालनमा सहयोग पुग्छ । तर गलत समयमा भने खानु हुँदैन । गलत समयमा खाना खानाले शरीरलाई नराम्रो गर्न सक्छ । यस्तोमा खानेकुराको प्रकृति अनुसार खाने समयको ज्ञान हुनु अतिआवश्यक छ ।

१. केरा
केरा फलफूलहरु मध्ये तत्कालै शक्ति प्राप्त हुने फल हो । पाकेको केरा दुध तथा दहिसँग खाँदा स्वादिष्ट त हुन्छ नै र स्वस्थ्यकर पनि हुन्छ । तर यही केराको सेवन बिहान अथवा बेलुका भने गर्नु हुँदैन । बिहान खाली पेटमा केरा खाँदा शुल (वायु) हुन्छ, यसमा रहेको उच्च म्याग्नेसियम तत्वले खाली पेटमा नकारात्मक असर गर्दछ ।

त्यस्तै बेलुका केरा खाँदा हाम्रो शरीरलाई भित्री चिसो लाग्ने उच्च सम्भावना रहन्छ । सोही कारण पनि केराको सेवन दिउँसो गर्दा उपयुक्त हुन्छ । बिहान खानुपरेमा तातो दुधसँग खाँदा यसले खासै असर गर्दैन ।

२. दुध
दुध वा दुधको चिया बिहान खानु भनेको शरीरमा ग्याँसट्राइटिस (ग्याँसट्रिक) निम्त्याउनु हो । यसमा रहेको उच्च एसिडिक तत्वले खाली पेटमा ताण्डव नै मच्चाउँछ ।

त्यसमाथि दुध अति पोषिलो पदार्थ भएकोले नियमित कडा अभ्यास गर्ने बाहेकका व्यक्तिहरुलाई एकाबिहानै सेवन गर्दा पाचन प्रक्रियामा पनि नकारात्मक असर पुर्याउँछ । तर बेलुका सुत्नु भन्दा एक घण्टाअघि मनतातो दुधको सेवन गर्दा यसले मीठो निन्द्रा लाग्ने र शरीरमा कमि भएको पोषणलाई पुरा गर्न मद्दत गर्दछ ।

३. स्याउ
स्याउमा हुने फाइबर तत्वले मानव शरीरको विभिन्न भागमा अनेकन फाइदा हुने गर्दछ । तरपनि स्याउको सेवन राती गर्नाले शरीरलाई बेफाइदा पुग्छ । रातीको समयमा स्याउ सेवन गर्दा यसमा भएको एसिडिक तत्वले पेटलाई असहज बनाउँछ भने यसमा हुने ‘पेक्टिन’ नामक तत्वले पाचन प्रक्रियालाई अनावश्यक भार दिने हुँदा सो समय स्याउको सेवन गर्नु हुँदैन । बिहान तथा दिउँसो स्याउको सेवन गर्दा यसले कब्जीयतको रोग समाधानको हुनुको साथै क्यान्सर जन्माउन सक्ने कोषलाई पनि नष्ट गर्न सहयोग पुर्याउँछ ।

४. काँक्रो
काँक्रो फल मात्र नभएर बहुगुणी सेवनको लागि सहज वस्तु पनि हो । बिहान काँक्रोको सेवन शरीरको लागि अति हितकारी छ । त्यस्तै दिउँसो पनि यसलाई सेवन गर्न सकिन्छ । दिउँसो यसको सेवनले पनि शरीरलाई राम्रै गर्दछ । तर बेलुका भने काँक्रोको सेवन गर्नाले शरीरमा नकारात्मक असर पुर्याउँछ । 

५. चिनी
चिनी पचाउन नसक्दा उच्च सुगर जस्तो दीर्घरोग लाग्ने भएपनि हामीले चिनीको प्रयोग नियमित गरिरहेका हुन्छौं । चिनीमा नकारात्मक गुण हुने मात्रै होइन धेरै अवस्थाको लागि हितकारी पनि हुन्छ । चिनी सेवनले शरीरले तत्कालै शक्ति प्राप्त गर्दछ भने १ चम्चा चिनीको सेवनले मात्र पनि शरीरमा आवश्यक उर्जा प्राप्त हुन्छ ।

तैपनि बेलुका चिनीको सेवन गर्नु शरीरको लागि हानिकारक मानिन्छ । बेलुकाको समयमा शरीरको इन्सुलिन कम सक्रिय हुनाले सो समय चिनी सेवन गर्दा त्यसलाई पचाउन गाह्रो पर्दछ । यस्तै, बिहान चिनी सेवन गर्दा यसले शरीरको शक्तिमा परिणत हुन पर्याप्त समय पाउँदछ भने बिहानको समयमा मानव शरीरमा चिनी पचाउने इन्सुलिन पनि निकै सक्रिय हुने हुँदा यो खराब चिनीको रुपमा शरीरमा बस्न पाउँदैन ।

६. मासु
मासुमा उच्च प्रोटिन तथा चिल्लो हुने हुँदा बेलुका खाँदा पाचन प्रक्रियाले पूर्णरुपमा पचाउन सक्दैन । त्यसमाथि रातको समयमा हाम्रो शरीरलाई त्यो मात्रामा शक्ति आवश्यक नपर्नेहुँदा अनावश्यक प्रोटिन शरीरमा थुप्रिइ रोगको कारक बन्न सक्छ ।

यसको विपरित दिउँसो मासुको सेवन गर्दा शरीरलाई चाहिने प्रोटिनको मात्रा पुग्ने तथा शक्ति प्रदान गर्ने गर्दछ । त्यस्तै दिउँसो मासु खाँदा पेट अडिलो भइ पटक पटक खाइ रहनुपर्ने बाध्यता पनि रहँदैन ।

७. दही
बिहान तथा दिउँसोको समयमा दही सेवन गर्दा पाचन प्रक्रियालाई सहयोग पुग्दछ । यसमा रहेको ब्याक्टेरिया हाम्रो शरीरको लागि हितकारी भएकोले दहीको प्रयोग सामान्य अवस्थामा पनि नियमित गर्दा राम्रो हुन्छ ।

विशेषगरी धेरै खानेकुरा, चिल्लो, मसला बढी मिसाईएको मासु खाँदा पनि दहीको सेवनले पेटलाई सहज संचालनमा सहयोग पुग्छ । तर रातीको समयमा दही सेवन गर्दा यसले शरीरमा कफको मात्रा बढाउने तथा भित्री चिसोले गर्दा फोक्सोसम्म असर पुग्छ ।