Newslaya Home

‘युवाहरुमा गीतको नाममा उच्छृंखलता छ’ : चुडामणि देवकोटा, गीतकार संघ नेपाल

शनिबार ०६, असोज २०७५

गीतकार संघ नेपालले इलाममा आउँदो असोज ११ र १२ गते पहिलो पटक गीतकार भेला गर्दैछ । गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको नेतृत्वमा हुन लागेको यो कार्यक्रमले प्रदेश १ का १४ वटै जिल्ला र छिमेकी देशका गीतकारहरुलाई समेट्नेछ ।

कार्यक्रमको तयारी र उद्देश्यका विषयमा देवकोटासँग न्यूजलयले गरेको कुराकानी :

कार्यक्रमको विषयमा केही भनिदिनुहोस् न ।
हामीले स्थानिय स्तरमा रहेका गाउँघरमा रहेका प्रतिभाहरुलाई पनि प्रेरणा मिलोस् र अग्रज र पुरानाहरुको अनुभवबाट उनीहरुले केहि सिकुन् भन्ने अभिप्रायबाट यो कार्यक्रम गर्न लागेका हौं । गीत संगीतमा हुने शब्दको शक्तिको दुरुपयोग, आमादिदी बहिनीहरुको शोषण, मनोरञ्जनको नाममा यौन पस्किने परिपाटी अन्त्यका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौं ।

हामीले गीत लेखेर र संगीत गरेर कला, सँस्कृती, भाषालाई मात्रै बचाउने होइन कि समाजलाई पनि दिशानिर्देश गर्न पनि यो कार्यक्रमले सहयोग गर्छ । युवाहरुमा गीतको नाममा उछृङखलता आएकोले सजक पनि गराउने हाम्रो उद्देश्य हो । 
इलामको छुट्टै विषयवस्तु निकालेर प्रकाशित गर्ने पनि लक्ष्य छ, त्यसले गर्दा उहाँहरुलाई हौसला हुन्छ, र नयाँ प्रतिभाहरुलाई रेकर्ड गर्ने पनि लक्ष्य राखेका छौँ ।

कार्यक्रममा कस्ता सेसन हुन्छन् ?
हामीले दुई वटा कार्य प्रस्तुत गर्न लागेका छौँ । एउटा, नेपाली गीतको स्तरीयता र व्यापारीकरणको बारेमा । जस्तै, पोइला जान पाम् भन्ने गीत आउँछ भोलि जोइला जान पाम् भन्ने गीतले यसलाई मार्दिन्छ । 

तर यस्ता गीतहरु पनि छन् जो कहिल्यै मर्दैनन् । जस्तै, मलाई नसोध, कहाँ दुख्छ घाउ, गाउँछ गीत नेपाली, रातो र चन्द्र सुर्य आदि । गीतले मनोरञ्जन चाहि बढी दिन थाल्यौँ, सन्देश र चेतना चाहिँ कम आउन थालो । त्यतातिर पनि हाम्रा युवा पुस्ताहरुलाई सजक गराउने र प्रशिक्षित गराउने हाम्रो अभिप्राय हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुती हुन्छ एउटा डाक्टर महेश पौडेल ज्यूले नेपाली गीतको स्तरियता र व्यापारीकरण अनि अर्को १ नं. प्रदेशको साँस्कृतिक र स्थानिय भाकाहरुको विषयमा प्रस्तुत गर्नुहुन्छ । साथै नयाँ प्रतिभाहरुको प्रस्तुती गीतहरु वाचन गर्ने र उहाँहरुको वाचन सुनेर विज्ञहरुले सुझाव दिने कामहरु हुन्छ । 

यो त अभियान होला, कसरी अघि बढ्छ ?
अहिले हामी प्रदेश नं. १ स्तरीय कार्य गर्छौँ र क्रमशः सातै प्रदेशसम्म जान्छौं । झण्डै साढे सात सय गीतकारहरु संगठित हुनुहुन्छ, जसमा एउटै जिल्लाबाट ५०–६० जना गीतकारहरु छन् । 

तपाईहरुले पप, र्याप गायन जस्ता विधाहरुलाई चाहिँ नसमेट्ने हो ?
हामीले सुगम संगीतको माध्यमबाट नेपाली भाषाको अतिक्रमण रोक्ने र त्यसबाट नेपाली जनतालाई मनोरञ्जन र चेतना बाँड्ने हो । ¥याप, हिपहप, पप गीतहरु पनि छन् नाच्नलाई । स्वास्थ्यलाई त फाइदा छ, तर त्यसले हाम्रो भाषा सँस्कृतिको जर्गेनामा कत्तिको सहयोग गर्छ, त्यो कुरा विचारणीय छ । त्यो गायनलाई पनि बन्दै गर्नुपर्छ भन्ने छैन तर त्यसलाई पनि हाम्रो पश्चिमा म्युजिकमा नेपाली बाजाहरुसँग फ्युजन गराएर निकाल्न पनि सकिन्छ । 

गीतकारहरुले लेखेको गीतवापतको रोयल्टीको कुरामा चाहिँ तपाइहरु कुन तरिकाको प्रस्तुत हुनुहुन्छ ?
स्रष्टाहरुको बौद्धिक सम्पत्तिको कदर हुनुपर्छ भनेर राज्यले नै संविधानमा राखिदियो । यो चाहिँ गीतकारको संगीतकारको बौद्धिक सम्पत्ति हो । त्यस्तो सम्पत्तिलाई कसैले प्रयोग गर्छ भने त्यो प्रयोग गरेवापत उनीहरुलाई रोयल्टी दिनु पर्छ । 
पहिले रेडियो नेपालमा हाम्रै गीत रेकर्ड हुँदा गीत पार गर्नुपर्ने व्यवस्था थियो, अहिले यो पप गीत होस्, हिपहप होस्, जस्तो गीत भएपनि शब्दको चाहि सेन्सर गर्ने बोर्ड भएको भएदेखि जसरी गाए पनि हुन्थ्यो तर शब्द बिगार्नु भएन । यो कुरालाई चाहिँ गीतकारको संस्थाले हेर्नु पर्ला कि ?

यस्तै लोकतन्त्रमा फेरी अरुले नियन्त्रण गर्ने भन्दा पनि स्व नियन्त्रण हुने कुराहरु छ । आफै नियन्त्रित हुने हो, आफै अनुशासित हुने हो । आफैले मर्यादित शब्द प्रयोग गर्ने हो । हामी सिर्जनामा बिर्को लगाउने काम गर्दैनौँ । हरेक स्रष्टा आफै जिम्मेवार बन्नु पर्छ ।