Newslaya Home

​धरानमा अस्थायी प्रहरी चौंकी भवनको शिलान्यास, जनसहभागितामा निर्माण सम्पन्न हुने

शुक्रबार २९, भदौ २०७५

धरान । स्थानीय संगको साझेदारीमा विकाशका कामहरुमा धरान देशकै नमुना शहरको रुपमा परिचित छ ।

शहरका भित्रि गल्ली, सडकहरु साझेदारीमै पिच भएका छन् भने राष्ट्रिय स्तरका प्रतियोगिताहरु गराउन सक्ने खेलकुद भवनहरु बनिएका छन् । त्यती मात्रै होईन, दुव्र्यसनीहरुका लागि आसरा सुधार केन्द्र निर्माण सम्पन्न भईसकेको छ भने भर्खरै ईलाका प्रहरी कार्यालयको परिषरमा सुविधा सम्पन्न हिरासत कक्ष बन्दैछ । 

यसै बिचमा पुनः धरानेहरु अस्थायी प्रहरी चौकि भवन बनाउन जुटेका छन् । धरान वडा नम्बर १५ मा रहेको पाथीभरा लाईनमा ६ कोठे प्रहरी चौकि बनाउन स्थानीयहरु अघि बढेका छन् । 

वडा नम्बर १५ धरानकै सबै भन्दा ठुलो वडा हो । वडा कार्यालयको एउटा कोठामा ४ जना दरबन्दी रहेको चौकिले समग्र वडाको सुरक्षा प्रदान गर्न कठिनाई भईरहेको छ । त्यसैले वडा नम्बर १५ वासी अस्थायी प्रहरी चौकि बनाउन जुटेका हुन् । 

घरेलु बिक्रि भण्डारको साढे ६ कट्ठा क्षेत्रफलमा बनेको रात्री बसपार्कको नजिकै ६ धुरको क्षेत्रफलमा ६ कोठे भवन निर्माणको शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले शिलान्यास गरेकी छिन् । करिब १३ लाख रुपैयाको अनुमानित बजेट रहेको भवन निर्माणका लागि स्थानीयकै सहयोगमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको अस्थायी प्रहरी चौकि भवन निर्माण समितीका अध्यक्ष हिमाल दाहालले बताए । 

भवन निर्माण सम्पन्न गर्न दाहालको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको छ भने वडा अध्यक्ष नरेश कुमार ईवारुमको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिती गठन गरिएको छ । वडा नम्बर १५ स्थायी घर भई विदेशमा कार्यरत, विभिन्न संघसंस्था, व्यक्तिहरुबाट आर्थिक संकलन गरेर १ वर्षमा भवन निर्माण सम्पन्न गरिसक्ने दाहालले बताए । 

भवन शिलान्यास कार्यक्रममा करिब ३ लाख रुपैया आर्थिक संकलन भएको समितीका सचिव कुमार श्रेष्ठले बताए । उनका अनुसार करिब १० लाख रुपैयाका लागि बचनदान आईसकेको छ । भवनमा हिरासत कक्ष, प्रहरी ब्यारेक, कमाण्डर रुम, अफिस, किचन लगायत रहने उनले जानकारी दिए । 

कार्यक्रममा भवनको शिलान्यास गर्दै कार्यवाहक प्रमुख भण्डारीले भवनको निर्माणका क्रममा आर्थिक अपुग भए सहयोग गर्ने प्रतिबद्धता जनाईन् । त्यसै गरि चौकीको आफ्नै भवन भए पछि स्थायी बनाउन पहल गर्ने पनि बताईन् । कार्यक्रममै वडा नम्बर १५ का वडाअध्यक्ष तथा अनुगमन समितीका संयोजक नरेश ईवारुमले वडाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।